२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 2:09 pm
समाचार

कुटपिट तथा अभद्र व्यवहार गर्ने तीन जना पक्राउ

सूचना प्रेस २०८३ कार्तिक २७ शुक्रबार ००:००, १३:४४ बजे १ मिनेट पढाइ

काठमाडौं : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा दुई महिलामाथि लाठी तथा भाटाले कुटपिट गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

जिल्लाको पाल्हीनन्दन गाउँपालिका– ५, विष्णुपुरामा घरायसी विवादका क्रममा ४६ वर्षीया सावित्रीदेवी गुप्ता र उनकी २३ वर्षीया छोरी पूजाकुमारी गुप्तामाथि कुटपिट तथा हातपात भएको हो। गत कात्तिक २५ गते बिहान करिब १० बजे भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही स्थानका ४८ वर्षीय विनोद गुप्ता, २४ वर्षीय सिद्धेश्वर गुप्ता र २७ वर्षीय अजय गुप्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले जनाएको छ। पीडित तथा जाहेरवाला पूजाकुमारी गुप्ताले अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी दिएपछि तीनैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरूमाथि जिल्ला प्रशासन कार्यालयबाट कात्तिक २५ गतेदेखि लागू हुने गरी सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिएका छन्।