२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 1:53 pm
कला/साहित्य

सिनेमा हलमा कृत्रिम भिड

सूचना प्रेस २०८३ मंसिर २ बुधबार ००:००, १३:५२ बजे ३ मिनेट पढाइ

कात्तिक २० गते । पछिल्लो समय नेपाली सिनेमालाई दर्शकले रुचाइरहे पनि चलचित्र हलमा कृत्रिम भिड हुने गरेको तथ्य बाहिरिएको छ । केही समययता नेपाली चलचित्रको प्रचारमा पहिलो सोमै हल भरिएको देखाउने होड बढ्दै गएको हो । निर्माता वा चलचित्र निर्माण समूहले टिकट खरिद गरेर वितरण गर्ने, चिनजानका व्यक्तिलाई निःशुल्क चलचित्र देखाउने तथा हलमै प्रतिक्रिया लिएर सामाजिक सञ्जालमा प्रचार गर्ने अभ्यास बढेको चलचित्र क्षेत्रका सरोकारवालाको भनाइ छ । यही कृत्रिम उत्साहलाई ‘हाउसफुल’ र दर्शकको व्यापक रुचिका रूपमा प्रस्तुत गरिँदा चलचित्रको वास्तविक व्यापार र प्रचारबिचको अन्तरबारे बहस सिर्जना हुन थालेको छ । 

चलचित्र प्रदर्शनको पहिलो दिन नै हलमा दर्शकको चहलपहल हुने, सामाजिक सञ्जालमा भरिभराउ हलका तस्बिर र भिडियो बाहिरिने र चलचित्र हेरेर निस्किएका दर्शकका उत्साहपूर्ण प्रतिक्रिया सार्वजनिक गर्दै केही समयमै चलचित्रले दर्शकको मन जितेको दाबी गरिनु सिनेमा क्षेत्रको विद्यमान अवस्था हो । पर्दापछाडि भने निर्माता स्वयम्ले टिकट किनेर सिनेमा चलाउनुपर्ने तथ्य केही समयअघि निर्माता विनोद पौडेलले सार्वजनिक गर्नुभएको हो । अभिनेतृ तथा निर्माता रेखा थापा चलचित्रलाई कृत्रिम रूपमा ‘हाउसफुल’ देखाउने क्रम बढ्नु भनेको अस्वस्थ प्रतिस्पर्धा र आत्मरतिसँग जोडिएको बताउनुहुन्छ । चलचित्रको टिकट बिक्री ‘राताम्मे’ देखिएमा दर्शक आकर्षित हुने विश्वासमा यस्तो अभ्यास भइरहेको भए पनि यसले विकृति निम्त्याएको उहाँको भनाइ छ । “फिल्म पनि आफैँ बनाउने, टिकट पनि आफैँ किन्ने र अर्कालाई देखाउन आफ्नो चलचित्र हिट भएको दाबी गर्ने होड चलेको छ,” उहाँले भन्नुभयो, “यसले कसैलाई कहीँ पुर्‍याउँछ जस्तो लाग्दैन ।”

उहाँका अनुसार नेपाली सिनेमामा करिब पाँच/सात वर्षयता यस्तो प्रवृत्ति देखिएको छ । चलचित्र प्रदर्शनका बेला योजनाबद्ध रूपमा सामाजिक सञ्जालमा सकारात्मक टिप्पणी गराउन लगाउने अभ्याससमेत बढेको उल्लेख गर्दै उहाँले यसलाई चलचित्र क्षेत्रका लागि ‘लाजमर्दो’ प्रवृत्तिको संज्ञा दिनुभयो । खास गरी चलचित्रकर्मीले आफ्नो धरातल र हैसियतको यथार्थ मूल्याङ्कन गर्नुपर्ने उहाँको भनाइ छ । “टिकट बिक्रीलाई अस्वाभाविक रूपमा बढाएर देखाउँदैमा वास्तविक दर्शकसम्म पुगिँदैन,” उहाँले भन्नुभयो, “चलचित्र असफल भए पनि आफूले इमानदारीपूर्वक प्रयास गरेको स्वीकार गर्न सक्नु पर्छ ।”

थापाले नेपाली चलचित्रको भविष्य कथा र मौलिकपनमै रहेको बताउनुभयो । नेपाली भाषा र परिवेशमा बनेको चलचित्र आफैँमा गौरवको विषय भएको उल्लेख गर्दै उहाँले समसामयिक विषयसँगै दर्शकले नदेखेका तथा नभोगेका कथा पर्दामा ल्याउनुपर्ने धारणा राख्नुभयो ।

एउटै विषय वा सफल कथाको ढाँचालाई निरन्तर दोहोर्‍याउनु सिर्जनशीलताका लागि उपयुक्त नभएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “चलचित्र सिर्जना हो । एउटा ‘कन्टेन्ट’ हिट भयो भन्दैमा त्यसैलाई दोहो¥याइरहनु सिर्जनशील मानिसलाई शोभा दिँदैन ।” उहाँले सीमित बजेटमा पनि सामूहिक प्रयास र नेपाली दर्शकको अपेक्षा अनुसार मौलिक तथा नयाँ विषयमा चलचित्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । ‘कबड्डी’ चलचित्रका निर्माता मणिराम पोखरेलले आफूहरूले अहिलेसम्म चलचित्रको सो टिकाउन वा हल भरिएको देखाउन टिकट खरिद गर्ने अभ्यास नगरेको बताउनुभयो । चलचित्र क्षेत्रमा यस्तो प्रवृत्ति भने बढ्दै गएको चर्चा सुनिने गरेको उहाँको भनाइ छ । “हामीले अहिलेसम्म त्यसो गरेका छैनौँ, गर्नु पर्छ भन्ने पनि लाग्दैन,” उहाँले भन्नुभयो, “यसो हुनुमा अहम्ता वा इगोका कारण हो कि चलचित्र बबाल चलिरहेको छ भन्ने हल्ला फैलाउन हो; बुझ्न गाह्रो छ !”

चलचित्र राम्रो चलिरहेको देखाउन कृत्रिम रूपमा टिकट खरिद गर्ने प्रवृत्ति साँच्चै मौलाउँदै जानु भनेको समग्र चलचित्र उद्योगलाई नै धराशायी बनाउन सक्ने उहाँको चिन्ता छ । आफूले पनि चियापसल, बसपार्क जस्ता सार्वजनिक ठाउँमा यस्ता चर्चा सुन्ने गरेको उहाँले बताउनुभयो । चलचित्र उद्योगसँग ठुलो जनशक्ति र रोजगारी जोडिएकाले क्षणिक प्रचार वा प्रतिस्पर्धाका लागि अपनाइने यस्ता अभ्यासले दीर्घकालमा उद्योगलाई असर गर्न सक्ने उहाँको भनाइ छ ।