काठमाडौं । नेकपा एमालेका सांसद एवं पुर्वमन्त्री पद्मा अर्यालले वैवाहिक नागरिकताको विषयमा बुहारीको बारेमा चिन्ता लिएपनि आफुले जन्माएका सन्तान छोरीका बिषयमा मौन बसेकोमा आक्रोष व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद अर्यालले भन्नुभयो, ‘वैवाहिक अंगीकृत नागरिकताको विषयमा बुहारीको विषयमा चिन्तित छौं । छोरीको विषयमा चिन्ता गर्नुपर्छ कि पर्दैन ? हिजो पनि सरकारमा रहेर हिजो बाह्र हात उफ्रनु भएको थियो । अहिले पनि सरकारमा रहेर किन चुप बस्नुभएको होला ?’ उहाँले माओवादीलाई प्रश्न गर्नभयो ।
नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाल कम्युनिस्ट पार्टी नेकपाको तत्कालिन सचिवालय बैठकले नेपालमा विवाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि मात्रै वैवाहिक नागरिकता दिने गरी कानुन बनाउने निर्णय गरेको थियो ।
सोही अनुसार वैवाहिक अंगीकृत नागरिकता विवाह गरेर आएको ७ वर्षपछि मात्रै जारी गर्ने गरी जारी गर्ने गरी नागरिकता ऐन संशोधन विधेयक पारित गरेको थियो । तर, त्यसबेला प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता जारी गर्ने प्रावधानमा फरक मत राखेर ०६३ को ऐन अनुसार विवाह गरेर आउने वित्तिकै नागरिकता पाउने व्यवस्थाका लागि फरक मत राखेको थियो ।
कांग्रेस सरकारमा गएपछि ओली सरकारले ल्याएको नागरिकता ऐन संशोधन विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याएको छ । नयाँ विधेयकमा वैवाहिक अंगीकृत नागरिकताको विषयमा केही बोलीएको छैन् ।
नेकपा हुँदा वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि जारी गर्ने प्रावधान राखिनुपछ भन्ने अहिले किन नभनेको भनी नेतृ अर्यालले प्रश्न गर्नुभएको हो ।