रुपन्देही । सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेर ठगी गरेको आरोपमा रुपन्देही प्रहरीले २१५ जना युवायुवतीलाई पक्राउ गरेको छ । यस्तो कारोबार हुने तिलोत्तमा नगरपालिका वडा नं २ को एक ‘कल सेन्टर’ मा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
तिलोत्तमाको जानकी नगरस्थित चारतले घरमा तीन वटा फ्ल्याट भाडामा लिई सञ्चालनमा रहेको ब्ल्यू स्काइ बिजनेस सोल्युशन प्रालिमा बुटवल प्रहरीले छापा मारेको हो । प्रहरीले २१५ भन्दा बढी युवायुवती नियन्त्रणमा लिएको दाबी गरेको छ ।
‘कल सेन्टर’मा तीन सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
भारतीय र चिनिया नागरिकको समेत लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो ।
कार्यालय सञ्चालक भारतीय नागरिकको घर तथा कोठा पनि खानतलासी हुँदैछ । अहिले मुचुल्का गर्ने काम भइरहेको र थप छानबिनका आधारमा कारबाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।