९ मंसिर २०८१, आइतबार 1732473845
Banner

संसद्‌ अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस


काठमाडौँ — सरकारले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार मध्यरातदेखि संसद्को ११ औँ अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले संसद्को कार्यकाल लम्ब्याउन कानुन संशोधनको प्रयास गरेको थियो । तर, सरकारले त्यसबारे आएको समाचार गलत भन्दै समानुपातिकको बन्दसूची बुझाउने अघिल्लो दिनबाटै संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको ती मन्त्रीको भनाइ छ ।

सरकारले आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ भने निर्वाचन आयोगले आइतबार र सोमबारका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रम तोकेको छ । सरकारले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेसँगै संसद्‌मा २७ विधेयक निष्क्रिय हुने भएका छन् ।