१ जेष्ठ २०८३, शुक्रबार 1778907117
Banner

कार रुखमा ठोक्किँदा दुई जनाको मृत्यु

झापा । झापाको शिवसताक्षीमा कार दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन्।

घाइतेहरूको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

मृत्यु हुनेमा कार चालक सप्तरी लेगडा ५ निवासी ४४ वर्षीय बलराम यादव र इटहरी १० का ३० वर्षीया गीता चौधरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक अशोक कुमार जबेगुले जानकारी दिए।

घाइते हुनेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका ६ निवासी ४० वर्षीया रिता चौधरी, इटहरी ८ निवासी २७ वर्षीय तेजन चौधरी, धरान १५ निवासी ३६ वर्षीय बिभिसन दास र सोही ठाउँका ३३ वर्षीय राजेश चौधरी रहेको उनले बताए।

प्रहरीका अनुसार मङ्गलवार साढे ४ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी नगरपालिका १० स्थित सैनिक चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च ९१०८ नम्बरको कार आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो।

तीव्र गतिमा रहेको कार सडक किनारको बरको रुखमा गएर ठोक्किएको थियो। रुखमा ठोक्किँदा कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ। चालकसहित कारमा ६ जना सवार थिए।