९ मंसिर २०८१, आइतबार 1732487595
प्रदेश

नियमित उडान नहुँदा कर्णालीवासीलाई सास्ती 

जुम्ला । दसैँको मुखमा कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूमा हवाई सेवा नियमित हुन सकिरहेको छैन । 

जहाजहरू पूर्वतिर पर्यटन ओसार्न गएसँगै यहाँको हवाई सेवा अनियमित बनेको हो । हवाई सेवा नियमित हुन छाडेसँगै दसैँमा घर आउन र जानका लागि टिकट काटि बसेका यात्रुहरू यत्तिखेर अप्ठ्यारोमा छन् ।

गएको तीन दिनअघि जुम्ला गुठीचौर गाउँपालिका ३ का ईश्वर बुढाले नेपालञ्जदेखि जुम्लाको लागि तारा एयरको टिकट लिनु भएको थियो ।  जहाजमा सहजै छिटै घर पुग्ने आशामा रहेका बुढा एक्कासी जहाजले जुम्ला उडान नभर्ने बताएपछि निरास छन् ।  तारा एयर लगायत जुम्लामा उडान भर्ने सबै जहाजहरू पर्यटक बोक्न पूर्वतिर गएका कारण बुढा जस्तै सयौँ यात्रु अहिले नेपालगन्ज विमानस्थलमा अलपत्र छन् । 

कर्णाली राजमार्ग स्तरबृद्धि नहुँदा कर्णाली बासीसकाे लागि यात्राका लागि हवाई सेवा नै यातायातको भरपर्दो माध्यम हो  । अलपत्र यात्रु वुढाले चाडपर्वको बेला सेवा पाइने अपेक्षा गरेको हवाई सेवामै मनपरी हुने गरेको दुखेसो पोख्नुभयो । 

कर्णालीमा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान भर्दै आइरहेका छन् । तर प्रत्येक वर्ष दसैँ तिहारको बेला सबै जहाज पर्यटक बोक्न पूर्वतिर जाने गरेका छन् । जसकारण यात्रुहरूले अनावश्यक हैरानी व्यर्होनु परिरहेको छ  । 

दसैँ तिहारमा सडक तथा हवाई यातायात सहज र सबै नागरिकका लागि पहुँचयोग्य हुनुपर्ने कर्णालीवासीको माग भएपनि एयरलाईन्सहरु नाफामुखी भएको नागरिक अगुवा राज बहादुर महत बताउनुहुन्छ ।  

जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले जुम्लामा समिट एयर र नेपाल एयरलाईन्सले नियमित उडान गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“जुम्लामा खासै यात्रुको चाप देखिन्न । नेपाल एयरलाईन्सले हप्तामा आइतबार र मङ्गलवार फलाईट गरिरहेको छ । समिट एयरले दिनमा एक उडान भर्दै आएको छ । नेपालगन्जबाट आउने यात्रुको चाप भएपनि जुम्लामा छैन ।” उहाँले भन्नुभयो । 

उता हवाई सेवा नियमित नभएको भन्दै जिल्ला समन्वय समिति जुम्लाले संस्कृत पर्यटन तथा यातायात मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यलेले कर्णालीमा दसैकै मुखमा हवाई सेवा ठप्प भएको प्रति संस्कृति पर्यटन तथा यातायात मन्त्रीलाई ध्यानाकर्षण गराएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘समस्याका विषयमा मन्त्रीलाई जानकारी गराएका छौ,सबै जहाज पूर्व पठाएर कर्णालीका यात्रुलाई बिचल्लीमा पार्नु सेवा नभई दुःख दिने नियत हो ।’

निजी हवाई सेवा प्रदायक कम्पनीहरूलाई प्रत्येक दिन कम्तीमा एउटा फ्लाइट र नेपाल एयरलाइन्सले समेत नियमित तालिका अनुसार उडान भर्न आवश्यक निर्देशनका लागि पत्र पठाइएको जिससका उपप्रमुख जनक थकालीले बताउनुभयो ।