१० मंसिर २०८१, सोमबार 1732579964
खेलकुद

पौडीमा नासिर र डुवानको नयाँ कीर्तिमानी

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीतर्फ नेपाली सेनाका नासिर याह्या हुसेनले राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । उहाँले आफ्नो नाममा रहेको कीर्तिमानमा सुधार गर्नुभएको हो ।

काठमाडाँैमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुदमा नासिरले १५ सय मिटर फ्रिस्टायलमा कायम गरेको १७ मिनट ४९ दशमलव ९५ सेकेन्ड समयमा सुधार गर्दै नयाँ कीर्तिमान कायम गर्नुभयो । पोखराको विरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा उहाँले १६ मिनेट ५० दशमलव २१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गर्दै नवौँ राष्ट्रिय खेलकुदमा पहिलो स्वर्णपदक हात पार्नुभयो । सोही स्पर्धामा एनआरएनका आशिष सापकोटा दोस्रो हुनुभयो । उहाँ १६ मिनट ५७ दशमलव ९५ को समयमा दूरी पार गर्दै दोस्रो स्थानमा रहनुभयो । तेस्रो स्थान पुलिसका सुनिलकुमार थापा मगरले हासिल गर्नुभयो ।

उहाँले कास्यपदक प्राप्त गर्नुभयो । यस्तै नेपाली सेनाकी डुवाना लामाले पनि आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल हुनुभएको छ । उहाँले २०० मिटर व्यक्तिगत मिड्लेतर्फ गौरिका सिंहको नाममा रहेको दुई मिनेट ३२ सेकेन्डको समयलाई पछाडि पार्दै दुई मिनेट ३१ दशमलव ४६ सेकेन्डको नयाँ समयको कीर्तिमान कायम गर्नुभयो । यो उहाँले हिट चरणमा कायम गरेको समय हो ।