११ कार्तिक २०८१, आइतबार 1730030699
Banner

आजबाट खुल्ला रुपमा प्रचार प्रसार गर्न पाईने : एमाले अध्यक्ष ओलीले दार्चुलाबाट र देउवाले डडेल्धुराबाट चुनावी अभियान शुरु गर्दै

काठमाडौं । निर्वाचन आयोगले आजदेखि राजनीतिक दलका उम्मेवारलाई खुला रुपमा प्रचार प्रसार गर्न दिने भएको छ । राजनीतिक दल तथा उमेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १७ दिन अघि देखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइनेछ ।

आजदेखि हुने चुनावी प्रचार प्रसारमा एमालेले सुदूरपश्चिमबाट देशव्यापी चुनावी अभियान थाल्ने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर एमालेले देशव्यापी चुनावी अभियान त्रिदेशीय सीमा नाकामा अवस्थित दार्चुला जिल्लाबाट सुरु गर्ने भएको हो । ओली सरकारको पालामा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटेर जारी गरेको चुच्चे नक्सा सार्वजनिक गरिएको थियो । अहिले यहाँबाटै अभियान सुरू गरिनुलाई आफ्नो सरकारको पालामा अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेको मुद्दालाई एमालेले यो चुनावमा सशक्त रूपमा उठाउने भनेर अर्थ लगाउन थालिएको छ ।

एमालेले भोलि दार्चुलाबाट अभियान थालनी गरेपछि ओलीले सोही दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराबाट चुनावी आससभाको सुरुवात गर्ने भएका छन् । देउवा बिहिबार गृह जिल्ला पुगेर जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कात्तिक १७ गते देखि २० गते सम्म उहाँ गृह जिल्लामै रही सात वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।