२ मंसिर २०८१, आइतबार 1731881464
Banner

चुनावको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ – निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गरेको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम आयोगले तीन सातापछि सार्वजनिक गरेको हो । प्रदेशसभाको मतपरिणाम भने पुस २ गते सार्वजनिक गरिने आयोगले जनाएको छ ।

प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गरेको हो ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ । कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ८९ सिट जितेको छ । प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट जितेर कांग्रेस संसदको ठूलो दल बनेको छ ।

यस्तै, नेकपा एमाले संसदमा प्रतिनिधित्व गर्ने दोस्रो ठूलो दल बनेको छ । एमालेका प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ गरी कूल ७८ सांसद बनेका छन् ।

माओवादी केन्द्रका ३२ सांसदले संसदमा प्रतिनिधित्व गर्नेछन् । माओवादीबाट प्रत्यक्षमा १८ र समानुपातिकमा १६ गरी ३२ सांसद संसदमा सहभागी हुनेछन् । तीमध्ये महेन्द्र राय यादव नेपाल समाजवादी पार्टीका हुन् । उनले माओवादी केन्द्रको चिन्ह हँसिया हथौडा लिएर निर्वाचन जितेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ जना सांसदले संसदमा प्रतिनिधित्व गर्नेछन् । रास्वपबाट ७ सांसद प्रत्यक्ष र १३ सांसद समानुपातिकतर्फ चुनिएका छन् । राप्रपाबाट ७ जना प्रत्यक्ष र ७ जना समानुपातिकतर्फ निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टीका १२ जना, यस्तै, नेपाल जनमत पार्टीका ६ जनाले संसदमा सहभागी जनाउनेछन् । जसपाबाट ७ जना प्रत्यक्ष र ५ जना समानुपातिक तर्फबाट समेटिएका छन् । नेकपा एकीकृत समाजवादीका १० जना सांसदले प्रतिनिधित्व गर्नेछन् ।

नागरिक उन्मुक्ति पार्टीका ३ जना, स्वतन्त्र तर्फका ५ जना, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका १/१ जनाले संसदमा प्रतिनिधित्व गर्नेछन् । आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको परिणामको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको बताएको छ। निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजाको परिणाम राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ।