३ मंसिर २०८१, सोमबार 1731946429
Banner

चुनौतिपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताउनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग आज बिहान भएको भेटमा प्रचण्डले सो कुरा बताउनुभएको हो ।

महासंघको पदाधिकारीहरु आज बिहान प्रचण्डको निजी निवास खुमलटार गएर भेटवार्ता गरेका थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषदको पहिलो बैठकबाट यस सम्बन्धमा निर्णय समेत भैसकेको जानकारी गराउनुभएको थियो । अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि उहाँको भनाइ थियो ।

‘महासंघ अर्थतन्त्र जोगाऔं भन्ने अभियानमा लागेको छ, यति बिहानै भेटघाटका लागि आउनुु भयो’ प्रचण्डले भन्नुभयो ‘समस्या समाधानका लागि भनिरहनुु भएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ ।’ प्रधानमन्त्री प्रचण्डले महासंघकातर्फबाट यसअघि दिइएका सुझाव अध्ययन पनि गरिरहेको बताउनुभएको थियो ।