काठमाडौं ।आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा सोमबारेखि सुरु हुने भएको शृखंलामा आज नामिबिया र स्कटल्याण्डबीच खेल भइरहेको छ।
कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेलमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको छ।
३२ खेलबाट ४६ अंक रहेको स्कटल्याण्ड सात टोली सहभागी लिग टु मा शीर्ष स्थानमा छ र वान डे विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गरिसकेको छ।
उता नामिबिया भने सोमबार घरेलु टोली नेपालसँग २ विकेटले पराजित भएको थियो। ३१ खेलबाट ३७ अंकसहित नामिबिया तेस्रो स्थानमा छ। शीर्ष तीनमा रहनका लागि नामिबियालाई बाँकी खेलहरु महत्वपूर्ण छन्।
अघिल्लो खेलमा नामिबिया नेपालसँग पराजित भएपछि स्कटल्याण्डलाई अब लिग टु को च्याम्पियन बन्न अब एक खेल जिते पनि पर्याप्त हुनेछ। आज नामिबियालाई हराएमा स्कटल्याण्डको ४८ अंक हुनेछ।
नामिबियालाई भने शीर्ष तीनमा रहनका लागि अब बाँकी पाँचमध्ये कम्तीमा पनि ३ खेल जित्नुपर्ने आवश्यकता छ। नामिबियाले नेपालमा शृखंला खेलेपछि यूएईसँगको बाँकी दुई खेल यूएईमै गएर खेल्नेछ।