२० बैशाख २०८३, आइतबार 1777867434
Banner

राष्ट्रपतिको उम्मेदवार दर्ताअघि एमाले र कांग्रेसको बैठक बस्दै

काठमाडौं । राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता हुनुभन्दा अघि नेपाली कांग्रेस र नेकपा (एमाले)ले आ–आफ्ना पार्टीका बैठक बोलाएका छन्। पार्टीबाट राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

साढे ८ बजेका लागि बोलाइएको उक्त बैठकले राष्ट्रपतिमा बरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट उम्मेदवार बनाउने निर्णय गर्नेछ।

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय अरू सात दलले शुक्रबार साँझ नै गरिसकेका छन्। वर्तमान सत्ता गठबन्धनको नेतृत्वको गरिरहेको नेकपा (माओवादी केन्द्र), सरकारमा रहेको जनमत पार्टीसहित सरकारलाई विश्वासको मत दिएका जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र सरकारलाई विश्वासको मत नदिएको राष्ट्रिय जनमोर्चाले पनि कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेका हुन्।

आफ्नो पहलमा पुस १० गते बनेको सत्ता गठबन्धन फेरिन लागेपछि अब कसरी अघि बढ्ने भन्नेबारे निर्णय गर्न नेकपा (एमाले)को पनि बैठक बस्न लागेको छ। पुस १० गतेको सहमतिअनुसार राष्ट्रपति आफ्नो पार्टीले पाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी थियो। सत्ता गठबन्धन नै धरापमा परेपछि अब राष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने र सरकारबारे के गर्ने भन्ने निर्णय गर्न एमालेको सचिवालय बैठक बस्न लागेको हो। बैठक बिहान ९ बजेका लागि बोलाइएको छ।

राष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ।