८ मंसिर २०८१, शनिबार 1732401903
राजनीति

प्रचण्डले आउने दिनमा ठुलो मूल्य चुकाउनु पर्छ : डा.देवकोटा

काठमाडौं । बागमती प्रदेश सांसद एवं नेकपा एमाले निकट नेपाल बुद्धिजीजी परिषद्का अध्यक्ष डा.दिनेशचन्द्र देवकोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आगामी दिनमा ठुलो मूल्य चुकाउनु पर्ने बताएका छन् । परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै डा.देवकोटाले प्रचण्डले एमालेले गरेको सदीक्षाप्रति अवमूल्यन गरेको टिप्पणी गरे ।

कांग्रेसले लाथालिङ्ग बनाएको माओवादीलाई सहयोग गर्दा समेत माओवादीले एमालेप्रति ठुलो घात गरेको उनको भनाइ छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउनु एमालेले ठिक गरेको देवकोटाको दाबी छ । तर, एमालेले १९ बुँदे सिएजी घोषणा गरेर स्थायित्व खोजेको बताए । प्रचण्डको अस्थिरताका कारण अहिले देश अस्थिरता तिर गएको पनि उनले आरोप छ । बुद्धिजीवी परिषद् पार्टीसँग एकाकार भएर अगाडि बढ्ने उल्लेख गर्दै उनले एमालेको ग्रासरुट अभियानलाई सफल पार्न लागिपरेको बताए ।

कार्यक्रममा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक रहेको बताए । देशको पक्षमा राम्रो गर्न खोज्दा सबै तिरबाट एमालेमाथि प्रहार भएको गुनासो ओलीले गरे।

बिनाप्रयास, बिनामिहेनत नलडी कोही विजेता नहुने उल्लेख गर्दै अध्यक्ष ओलीले विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायत प्रयोग गरेर बौद्धिकजगतमा हाबी हुन बुद्धिजीवीलाई आग्रह गरे ।

उनले भने, ‘जनतालाई भ्रममा पार्न, जनतालाई सचेत हुन नदिन केही शक्ति सफल भएका छन्, जनतालाई भ्रममा पार्न खोज्ने, अल्मल्याउने, पथभ्रष्ट पार्न खोज्ने शक्तिको जञ्जालबाट जनतालाई मुक्त गर्न बुद्धिजीवीले बिगुल फुक्नु आवश्यक छ।’ उनले बुद्धिजीवीलाई निरन्तर लेखिरहन सुझावसमेत दिए ।

परिषद्को साङ्गठानिक प्रतिवेदन महासचिव गजेन्द्रप्रसाद थपलियाले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष गोपीकृष्ण न्यौपानेले तथा समसामयिक प्रस्ताव सुशील बिकेले पेस गरेका थिए भने त्यसमाथि देशभरबाट सहभागीबीच छलफल गरिएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं परिषद्का इन्चार्ज मनोजजङ्ग थापा, परिषद्का उपाध्यक्ष डा.दीपेन्द्र भण्डारी, उपमहासचिव गोविन्दबहादुर शाहीलगायतले देशको वर्तमान राजनीतिक परिवेशमा बुद्धिजीवीले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरेका थिए।