काठमाडौं । राष्ट्रपति चयनका लागि जारी निर्वाचनमा आज अपरान्ह १२ बजेसम्म ४२१ मत खसेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार दिउँसो १२ बजेसम्म संघतर्फ २०२ र प्रदेशसभातर्फ २१९ गरी कूल ४२१ मत खसेको हो।
बिहीबार बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान सुरू भएको छ। मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।
राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ । मतदानमा संघीय संसद्तर्फ प्रतिनिधिसभाका २७२,राष्ट्रियसभाका ५९ र सातै प्रदेशसभाका ५५० गरी कूल ८८१ मतदाताले सहभागी हुँदैछन्।
संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।
संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।
राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ट नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवाचन्द्र नेम्बाङले उम्मेदवारी दिएका छन्। पूर्वसभामुख पौडेल नौ दलीय गठबन्धन तथा संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्।
मतदान सकिएलगत्तै सर्वपक्षीय बैठक बसेर गणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ । आजै बेलुका ७ बजेसम्ममा नतिजा सार्वजनिक गर्ने तयारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।