९ मंसिर २०८१, आइतबार 1732433887
Banner

राष्ट्रपति निर्वाचनमा एमाले अध्यक्ष ओलीद्वारा मतदान

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा मतदान गर्नुभएको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद मतदान केन्द्रमा उहाँले केहीबेरअघि मतदान गर्नुभएको हो ।

मतदानपछि सञ्चारकर्मीसँग उहाँले आज निर्वाचित हुने नयाँ राष्ट्रपतिले मुलुकको सार्वभौमसत्ता र स्वाधीनता कायम राख्दै राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नयाँ निर्वाचित हुने राष्ट्रपतिले आफ्नो सानो समूहको हित हेर्ने हैन । देशप्रति बफादार भएर काम गर्नुपर्छ ।’

उहाँले अघिल्ला दुई राष्ट्रपतिको भूमिकाको प्रशंसासमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान राष्ट्रपतिको भूमिकालाई अङ्क दिनपरे सय दिन्छु । उहाँले राम्रो काम गर्नुभएको छ’, उहाँले थप्नुभयो, ‘अघिल्ला दुई राष्ट्रपतिले आफ्नो कार्यकालमा राम्रो काम गर्नुभयो । अहिलेको व्यवस्था र प्रणालीलाई मन नपराउने र आफ्नो स्वार्थमा लाग्ने समूहले मात्र विरोध गरेका हुन् ।’

आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।