८ मंसिर २०८१, शनिबार 1732403066
Banner

सिटौला समूहको नेविसंघले बोलायो विशेष भेला

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको संस्थापन र इतर समूहबीचको विवाद चर्किदै जाँदा ‘तेस्रो धार’ भनिने समूहले विशेष भेला आह्वान गरेको छ। पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट विद्यार्थीहरुले शुक्रबार बिहान ‘स्ववियु निर्वाचन विशेष भेला’ आह्वान गरेका हुन्।

नेविसंघको पूर्वकेन्द्रीय सदस्य सुशील भट्टले शुक्रबार बिहान ८ बजे बाल्मिकी क्याम्पसमा भेला बोलाइएको जानकारी दिए।

उनका अनुसार भेलालाई बागमती प्रदेशसभा सदस्य तथा प्रमुख सचेतक कुन्दनराज काफ्ले, गण्डकी प्रदेश सभा सदस्य तथा बाग्लुङ सभापति जीत शेरचन, नेविसंघका पूर्वउपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्वमहामन्त्री बलदेव तिमल्सिनालगायतले सम्बोधन गर्ने छन् ।

स्ववियु निर्वाचनको संघारमा संस्थापन र इतर समूहले भागबण्डाका आधारमा उम्मेदवारी टुंग्याउने आशंकामा सिटौला समूहले भेला बोलाएको एक नेताले बताए। सिटौला समूहले गुटगत आधारमा नभएर क्याम्पसहरुमा देखिएको लोकप्रियताका आधारमा स्ववियु निर्वाचनका लागि उम्मेदवार चयन गर्नु पर्ने र गठबन्धनका नाममा संगठनको पकड भएका क्याम्पसहरु फरक संगठनको भागमा दिन नहुने बताएको छ।