९ मंसिर २०८१, आइतबार 1732459183
राजनीति

एमाले इनरुवामा मिसन ग्रासरुट अभियान तिब्र

काठमाडौं । ने.क.पा. एमालेको सुनसरी जिल्लाको इनरुवा नगर पार्टीले मिसन ग्रासरुट अन्तर्गत रहेर पार्टी सुदृढीकरण तथा विस्तार अभियानलाई गति दिएको छ । पहिले नै दुई बैठक गरेपछि पछि जिल्ला पार्टी कार्यालयको सभाकक्षमा करीव नगरका ३०० अगुवा कार्यकर्ताको सक्रिय सहभागितामा अभियानको गति बढाएको हो ।

नगर स्तरीय विस्तारित भेलाले १० वार्डमा आयोजना गरिने कामको कार्ययोजना बनायो र उक्त वार्डहरुमा खटिने नगर,जिल्ला र प्रदेश सदस्यहरु समेतलाई सहजीकरणको जिम्मेवारी प्रदान गरेको छ । नगर अध्यक्ष प्रेम पौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा केन्द्रीय लेखा परीक्षण समिति सदस्य डीबी साह शंकरले मिसनका महत्व र उपादेयता बारेमा सविस्तार बताउँदै वार्डहरुमा सञ्चालन हुने पार्टीकामको फेहरिस्त उल्लेख गरे । कोशी प्रदेश सदस्य तथा सांस्कृतिक विभाग प्रमुख डा. बद्रीविशाल पोखरेलले यो अभियान पार्टीलाई पुनर्जीवन प्रदान गर्ने सञ्जीवनी बुटी हो भन्दै यसको सही प्रयोग गर्ने जिम्मेदारी सबै नेता र कार्यकर्ताको रहेको बताए । डा. पोखरेलले एमाले देश र जनताका लागि उदाहरणीय काम गरेर बारबार परीक्षित भएको हो भन्दै सिद्धान्त र संगठन, आचरणमा यस पार्टीमा व्याप्त नेपाल प्रवृत्तिको भाइरसलाई समूल नष्ट गर्नु पर्ने आवश्यकतामा जोड दिए । कार्यक्रममा केन्द्र,प्रदेश र जिल्ला पार्टीबाट अभियानमा परिचलित गरिएका अभियन्ताहरु कमला खड्का,प्रदीप भण्डारी,तथा पार्टी जिल्ला सचिव पर्शुराम यादव, प्रदेश सभासद् राम प्रसाद मेहता, नगर सचिव मेघराज न्यौपाने,सदस्य दिलु श्रेष्ठले विषयगत मन्तव्य प्रस्तुत गरेका थिए ।