९ मंसिर २०८१, आइतबार 1732450898
Banner

पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा १० जना घाइते

काठमाडौं। विराटनगरमा पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा कम्तिमा १० जना घाइते भएका छन् ।

होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका आन्दोलनकारीका शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार झडपमा ३ जना सशस्त्र प्रहरी तथा ३ जना नेपाल प्रहरीका जवान घाइते भएका छन् । भने आन्दोलनकारी तर्फ ६ जना घाइते भएको छ ।

झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको थियो । आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । अहिले स्थिति सामान्यतर्फ फर्किएको छ ।

युएनडिपीको आयोजनामा आज र भोलिका लागि तय भएको कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकको होटेलमा राखिएको थियो । त्यहाँ प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले घेर्न आउने भएपछि असुरक्षा देखाएर विराटनगरको होटेल बिगमा राखिएको छ।

पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन गर्नुपर्ने माग गर्दै प्रदर्शन गर्दै आइरहेका छन्। सांसदहरू सहभागी हुने कार्यक्रम र होटेल घेराउ गर्न समितिका कार्यकर्ताहरू जम्मा हुने भएपछि प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ।