काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा मन्त्रीको रुपमा सहभागी हुनेहरुको नामावली अझै टुंगो लागिनसकेको बताएका छन् ।
कतिपयले सामाजिक सन्जालमा नेताहरुको फोटो राखेर मन्त्री बन्न लागेको भन्दै बधाई दिने गरेपछि खड्काले गएराति सामाजिक सन्जालमार्फत् नै नामावली टुंगो नलागेको बताएका हुन् ।
पार्टी सभापतिले हस्ताक्षर गरेर नामावली प्रधानमन्त्रीलाई नबुझाएसम्म कुनै पनि बेला निर्णय परिवर्तन हुनसक्ने खड्काको भनाइ छ। उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘अहिलेसम्म पार्टीका तर्फबाट मन्त्रीहरुको फाइनल नाम टुङ्गो लागिसकेको छैन। जबसम्म औपचारिक निर्णय भएर सभापतिज्युको हस्ताक्षरित पत्र प्रधानमन्त्रीज्युकोमा पुग्दैन, तबसम्म निर्णय परिवर्तन हुन सक्छ।’
प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन्। अपराह्न तीन बजे नयाँ मन्त्रीको शपथ ग्रहण हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। सरकारमा नेपाली कांग्रेसको नेतृत्व पूर्णबहादुर खड्काले गर्ने चर्चा छ।