९ मंसिर २०८१, आइतबार 1732453972
Banner

राष्ट्रिय योजना आयोगमा थप ३ सदस्य नियुक्त

काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगमा थप ३ सदस्य नियुक्त गरेको छ। आर्थिक वर्ष २०८०-८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले अर्थशास्त्री डा.रमेशचन्द्र पौडेल, प्रा.डा आरपी विछा र प्रभु बुढाथोकीलाई आयोग सदस्यमा नियुक्त गरेको हो।

नवनियुक्त डा.रमेशचन्द्र पौडेल त्रिविको अर्थशास्त्र विभागका सहप्राध्यापक हुन्। उनले अष्ट्रेलिया नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। आरपी विछा भने लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील छन्।

पौडेल र विछाले शुक्रबार शपथ ग्रहण गरिसकेका छन्। बुढाथोकी भने काठमाडौं बाहिर रहेकाले शपथ ग्रहण हुन सकेन।

सरकारले यसअघि नै राष्ट्रिय आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा.मिनबहादुर श्रेष्ठलाई तथा सदस्यहरुमा रामकुमार फुयाँल र डा.जयकान्त राउतलाई नियुक्त गरिसकेको थियो। थप ३ सदस्य नियुक्त भएपछि राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ।

राष्ट्रिय योजना आयोग राष्ट्रिय विकास परिषद् अन्तर्गत रहेको देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो।

प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोगको अध्यक्षता गर्छन् भने आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, विभिन्न विषय क्षेत्र लगायतको प्रतिनिधित्व हुने गरी छ जना सदस्यहरू र नेपाल निजामती सेवाको विशिष्ट श्रेणीको अधिकृत (सचिव) सदस्य सचिवको रूपमा रहने व्यवस्था छ। नेपाल सरकारको मुख्यसचिव र अर्थ सचिव आयोगको पदेन सदस्यको रूपमा रहने व्यवस्था छ।