काठमाडौं । तनहुँ–१ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ।
पछिल्लो अपडेट अनुसार उनले १० हजार मत कटाएका छन्। वाग्लेले १० हजार २५९ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्दलाई स्वर्णिमले ५ हजार २५६ मत अन्तरले पछि पारेका छन्।
एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७९७ मत पाएका छन्। खनाल भट्टराईभन्दा २२०६ मतले र वाग्लेभन्दा ७४६२ मत अन्तरले पछि छन्।
स्वर्णिमले सत्ता गठबन्धन र नेकपा एमालेको गढ भनिएकै क्षेत्रबाट धेरै मत पाएका छन्। स्थानीय तह निर्वाचनमा १३ वटा वडाहरु रहेको भानु नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद कांग्रेसले जितेको थियो। यहाँका ९ वटा वडा कांग्रेसले तथा एमाले र स्वतन्त्रले दुई–दुई वटा वडा जितेका थिए।
यसैगरी आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए। कांग्रेस दोस्रो भएको थियो। तर भानु र आँबुकै वडाहरुबाट स्वर्णिमको पक्षमा बढी भोट खसेको छ।
भानुको वडा नम्बर ३ मा स्वर्णिमले ७१४, वडा नम्बर ४ मा ७५९ र वडा नम्बर ८ मा ८५६ मत पाउँदा गोविन्दले ४१८, ४८२ र ४५८ मत पाएका छन्।