काठमाडौँ – काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र पठाएको छ।
उच्च अदालत पाटनले टुकुचा खोला भएको र त्यो माथि व्यक्तिगत सम्पत्ति रहेको आदेश दिएपछि सोमबार महानगरपालिकाले खोलामाथि पर्ने लगत कट्टाको माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र मन्त्रालयमा पत्र लेखेको हो । मेयर बालेन्द्र साह(बालेन)ले निर्णय गर्दै मन्त्रालयमा पत्र काट्नुभएको हो ।
निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले पत्र पठाउनु भएको हो ।
पत्रमा भनिएको छ, ‘हात्तीसार क्षेत्रमा टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्रको जग्गा त्रुटिवश व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशीघ्र व्यक्ति विशेषको नाममा दर्ता रहेको उक्त लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध गर्ने सम्बन्धमा आवश्यक कारवाहीको लागि मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ अनुरोध गरिन्छ।’
मालपोत ऐन, २०३४ को दफा २ ले नदी, खोलानाला तथा सोको क्षेत्राधिकारको जग्गालाई सरकारीरसार्वजनिक जग्गा मानेको छ। सोही ऐनको दफा २४ (२) ले सरकारी/सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था गरेको छ। सो कानुनी व्यवस्थाको प्रतिकुल हुने गरी काठमाडौँ महानगरपालिका वडा नं. १ हात्तीसार क्षेत्रमा टुकुचा खोलाको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको अवस्था पत्रमार्फत अवगत गराइएको छ ।