काठमाडौं। नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले प्रतिनिधिसभाको बैठक मजाक गर्ने थलोको रुपमा दुरुपयोग हुन थालेको भन्दै चिन्ता प्रकट गरेकी छन्।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सदनको गरिमालाई मर्यादत बनाउनु सबै सांसदहरुको कर्तव्य, दायित्व र जिम्मेवारीको विषय भएको बताइन्।
‘तर हाम्रा प्रस्तुतीहरू गतिविधिहरु त्यति वान्छनीय देखिँदैनन्। सदन सिंगो मुलुकको भविष्य निर्माण गर्ने ठाउँ हो। तर, यसलाई केही माननीयहरुले मजाक गर्ने थलोको रुपमा दुरुपयोग गर्नुभएको छ,’ उनले भनेकी छन्।
सांसद राईले संसदलाई मजाक गर्ने थलो बनाउने प्रयत्नका उदाहरणहरु पनि दिएकी छन् । ‘कोही माननीय मौन धारणा गर्ने, कोही माननीय सदनमा नांगिएर परेड खेल्ने यी गतिविधहरुप्रति खेद प्रकट गर्न चाहन्छु,’ सांसद राईले भनेकी छन्।
सदनमा आफ्नो कुरा राख्ने र विरोध गर्ने तरिकालाई मर्यादित बनाउन आवश्यक रहेको उनको भनाइ छ। सदनलाई मर्यादित नबनाउँदा आम नागरिक, सरकार, सदन र मुख्य रुपमा स्वयम सांसद अमर्यादित हुने कुराको हेक्का राख्नुपर्ने उनको राय छ।