“राजनीतिमा दलको विचार, नीति र कार्यक्रमले दलको चरित्र निर्धारण गर्छभने राजनीतिक नेतृत्वको व्यवहार, चरित्र र नैतिकताले उसको नियत र क्षमता दर्शाउँछ।” अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा दलका गद्दार नेताहरू जो जो संलग्न छन्, तिनले भ्रष्टाचारमात्र गरेनन् विश्व मञ्चमा नेपालको प्रतिष्ठा नै गिराउने काम समेत गरेका छन्। यसर्थ भ्रष्टाचारमा संलग्न सबै पात्रहरूलाई भ्रष्टाचार विरूद्धको विशेष कानुन बनाएर सर्वश्वसहित जन्म कैद गर्ने व्यवस्था गर्नुपर्छ। कुन दल र कुन नेता भनेर हेर्ने होइन। लेखकको विचारमा त गैरसरकारी क्षेत्रमा भएका भ्रष्टाचारलाई पनि यही कानुनअनुसार दण्ड गर्ने व्यवस्था लागु गरिनुपर्छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक नेतृत्वदेखि लिएर प्रशासनिक नेतृत्व पनि संलग्न भएको देखिन्छ। यो प्रकरणले लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउन चाहने अनि भ्रमपूर्ण र सस्तो लोकप्रियतावादीहरूलाई स्थापित दलहरू र त्यसको नेतृत्वका विरूद्ध राजनीति गर्ने एउटा बलियो आधार बनाइ दिएको छ। त्यतिमात्र कहाँ हो र, बाह्य शक्तिहरू पनि आफ्नो प्रभाव र दबाव बढाउन यो परिस्थितिलाई सदुपयोग गरेर यतिखेर खुकुलो नागरिकता विधेयकलाई जसरी पनि राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने आधार खोज्दैछन्। त्यसैले दलहरूले यदि तर नगरी संलग्न पात्रहरूलाई कानुनको कठघरामा उभ्याउन प्रत्यक्ष सहयोग गर्नुपर्छ।
नीतिहरूको राजा राजनीति प्रदुषित हुनबाट रोक्नका लागि राजनीतिक दलहरूले निर्मम भएर आफ्नो समीक्षा गर्दै श्र्वेत पत्र जारी गरेर जनतालाई आफ्नो दृष्टिकोण र योजनाका बारेमा स्पष्ट बनाउनु पर्छ। साथै विगतमा भएका कामहरूप्रति जिम्मेवारी लिएर आफ्नो भावी नीति तथा योजना जनतालाई भन्नुपर्छ। लोकतान्त्रिक गणतन्त्रको विकल्प लोकतान्त्रिक गणतन्त्र नै हो भनेर जनतालाई बुझाउनु पर्छ। जनताले पनि भ्रममा नपरी अनि भावनात्मक रूपमा भड्किन छोडेर वैचारिक र नीतिगत पक्षलाई हेरेर राजनीतिक दलहरूप्रति धारणा बनाउनु पर्छ किनभने जनताले आफ्नो सार्वभौम अधिकारको ठीक प्रयोग गर्नमा चेतना र विवेक प्रयोग गर्न सक्नुपर्छ।
“मन भित्रको शत्रुलाई परास्त गर्न नसक्दासम्म मन बाहिरका शत्रुलाई कमजोर बनाउन सकिन्न।” यो चेत हामी र हाम्रो नेतृत्वमा कहिले आउँछ ? फेरि जनताको चेतना र विवेकले पनि आफ्नो सार्वभौम पहिचान मेटाएर निश्चित मुलुकहरूमा शरणार्थीका रूपमा जान घरबारीखेत बेच्न तयार छ। आज नक्कली भुटानी शरणार्थी प्रकरणमा आलोचनाको केन्द्र एक पक्षमात्र बनाईंदैछ, जबकी यसमा नागरिकको भूमिका पनि उत्तिकै छ। तर यस सवालमा मिडिया र सामाजिक सञ्जालमा कोही केही बोल्दैनन्। किन ? हामीले बुझ्नु पर्ने हो, जसरी शिक्षादीक्षा ठीक भएन भने नागरिकको मनस्थिति र देशको परिस्थिति पनि ठीक हुँदैन् त्यसरी नै समय र सम्बन्ध ठीक भएन भने समस्याहरूको ठीक समाधान हुँदैनन् र बल्झिरहन्छन्। नक्कली भुटानी शरणार्थी प्रकरण त्यसकै परिणति हो।
एक पक्षीय नबनौं, नक्कली भुटानी शरणार्थी बनाउन सघाउने पात्रहरूलाई कडाभन्दा कडा कारवाही गर्नुपर्छ, दुई मत छैन्। तर गलत विवरण बुझाएर राज्यलाई झुक्याएर विदेशी राहदानी हुँदा(हुँदै नेपाली राहदानी लिने पात्रको नियत ठीक थिएन नै। अहिले सेटिङमा अदालतमा मुद्दा नचलाउने भनिदैछ। यो पनि एक प्रकारको अपराध नै हो। त्यसैले राहदानी ऐनअनुसार निजलाई कारवाही गर्नका लागि पनि नागरिक आन्दोलनले मुद्दा बनाउनु पर्छ।
त्यतिमात्र होइन, केही वर्षदेखि यता विदेशमा रहेका नेपाली र भूतपूर्व नेपालीहरूलाई भ्रममा पारेर अनि भावनात्मक रूपमा भड्काएर मासिक रूपमा सहयोग रकम उठाएर नयाँ तथा वैकल्पिक हौं भन्ने व्यक्ति तथा समुहहरूले विदेशमा श्रम शोषणमा परेकाहरू माथि आर्थिक शोषण गरिरहेका छन्। फेरि तिनैले नेपालमा संविधानवाद र सुशासनको कुरा गरेर आफ्ना काला करतुत र कैफियत लुकाउन खोज्दैछन्। चेतना भया ।