९ मंसिर २०८१, आइतबार 1732454686
Banner

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत काठमाडौं लगेको थियो।

उनीहरूलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेकामाथि ५५ दिन लामो अनुसन्धान गरेर तयारी पारेको प्रतिवेदन प्रहरीले आज सरकारी वकिलको कार्यालयमा बुझाउँदैछ । सह–न्यायाधिवक्ता अच्युतमणि नेउपानेले आज प्रहरीले प्रतिवेदन बुझाएपछि मंगलबारसम्म जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिने जानकारी दिए ।

पीडितहरूले दिएको बयानका आधारमा प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरू गरेको थियो। पक्राउ परेका १६ जनासहित विभिन्न व्यक्तिसँग लिएको बयान तथा सोधपुछका आधारमा प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारेको हो। सरकारी वकिलको कार्यालयले प्रतिवेदनमाथि २४ घन्टा अध्ययन गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,सचिव टेकनारायण पाण्डे,पूर्वसांसद आङटावा शेर्पा,नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ,भुटानी शरणार्थी नेता टेकनाथ रिजाल,केशव दुलाल,सानु भण्डारी,टंक गुरूङ, सागर राई, सन्देश शर्मा,टोपबहादुरका छोरा सन्दीप,इन्द्रजित राई,खाँणका सयहोगी नरेन्द्र केसी,रामशरण केसी र गोविन्द चौधरीप्रहरी हिरासतमा छन् ।

सोही प्रकरणमा मुछिएका निरज राई र प्रतीक थापा हालसम्म फरार छन् । उनीहरूविरूद्ध प्रक्राउ पुर्जी जारी भइसकेको छ । थापा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा हुन् भने निरज पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई छोरा हुन् ।