काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बन्न सुझाव दिएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पूर्वराजालाई नयाँ पार्टी खोल्न वा राप्रपाको अध्यक्ष बन्न सुझाव दिएका हुन् ।
‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन्। अहिले सामान्य जनता हुन्। उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्न जान्छन्, अभिनन्दनका कुरा छन्, एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस्। राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्, त्यो लोकतन्त्रको पाटो हो, मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किंदैन’ उनले भने।
पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र सार्वजनिक कार्यक्रममा सहभागी हुने र मन्तव्य दिने गर्दै आइरहेका छन् । उनी इटहरी, धनगढी लगायतका ठाउँमा आयोजित नागरिक अभिनन्दनमा सहभागी भएर भाषण गरेका थिए ।