माधव नेपाल वामपन्थी आन्दोलन ध्वस्त बनाउने रायमाझी र गोर्वाचोभका दोस्रो संस्करण हुन्। नेपालको प्रगतिशील राजनीति विवादित र कमजोर बनाउन दक्षिणपन्थीहरूले प्रयोग गरेका पात्र रहेछन्। अहिले तिनै माधव नेपालले वामपन्थी आन्दोलन ध्वस्त बनाउन नेकपा व्युँत्याउँने सपना देख्दैछन्। रूपमा ठूलो देखिने नाममा यस्ता खराब पात्रहरूलाई आन्दोलनमा समेट्ने गल्ति अब कसैले पनि गर्नु हुँदैन्। आज खराबलाई बहिष्कार र तिरस्कार गर्ने अनि प्रगतिशील वैचारिक राजनीतिको पक्षमा उभिने सामर्थ्य देखाउनु पर्ने बेला भएको छ।
सम्वृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय संकल्प पूरा गर्न राजनीति विचारबाट अनि राज्य प्रगतिशील वैचारिक राजनीतिबाट निर्देशित हुनुपर्छ। माधव, झलनाथ र प्रचण्ड माझण्डे हरूका कारणले अहिले प्रगतिशील वैचारिक राजनीति पछाडि पर्दा र देशमा दक्षिणपन्थी अवसरवादी चरित्र हावी हुँदा हामी गतिहीन बन्दैछौं किनभने सस्तो लोकप्रियतावाद र भ्रमित भिडको बलमा राजनीति गर्ने र राजनीतिक दल चलाउने प्रयासमा नयाँ र कम्फर्टेबलवादीहरू अझ बढी सक्रिय देखिएका छन्। त्यतिमात्र होइन, माझण्डहरूका गलत गतिविधिका कारणले विचारहीन मात्र होइन, चरित्रहीन र नैतिकहीन पात्रहरूले आफूलाई जनताका आसा पूरा गर्ने नेताका रूपमा चिनाउन पनि खोज्दैछन्। जबकी तिनका विगत अत्यन्त विवादास्पद मात्र होइन, शंकास्पद पनि थियो। अमेरिकामा आफ्ना श्रीमती र सन्तानहरूको भविष्य संकटमा पार्ने त्यही पात्रले आज नेपाल बसेर नेपाली मन झुक्याउने काम गरिरहेको छ। हामी कोही पनि भ्रममा नपरौं, खराब पात्रको नेतृत्वमा न सम्वृद्ध नेपाल बन्छ, न त हामी नेपाली नै सुखी हुन सक्छौं।
हामीले बुझ्नुपर्छ, “राजनीतिमा जानी–जानी नैतिकहीन, चरित्रहीन र विचारहीन अवसरवादी पात्रलाई मुख्य नेतृत्व मान्नु भनेको विचारहीन राजनीति र नेतृत्व ठीक छ भन्नु हो।” आज माझण्डलगायत नयाँ भनिनेहरूले त्यही प्रवृत्तिलाई आदर्श मानेर राजनीति गर्न खोजिरहेका छन्। त्यसैले त माझण्डहरूले २०७७ मंसिर(पुस यता गरेका अराजक र अनैतिक अनि चरित्रहीन र विचारहीन राजनीतिका कारणले दक्षिणपन्थी अवसरवादी शक्तिहरूले जनतालाई झुक्याउन र आफूलाई बलियो देखाउन सक्षम भएका छन्। त्यसैले जबसम्म माझण्डहरू आफ्नो गल्ति महसूस गर्दैनन् र त्यसमा सुधार गर्ने सार्वजनिक प्रतिबद्धता जनाउँदैनन् तबसम्म विश्वास गर्ने वातावरण बन्दैन्। हुन त माझण्डहरूले गल्ति महसूस गरेर त्यसलाई सुधार्ने प्रतिबद्धता गरेतापनि विश्वास गर्ने राजनीतिक वस्तुगत अवस्था बनेको छैन् किनभने उनीहरू वामपन्थी जनमत भ्रमित र विभाजित बनाउन मै केन्द्रीत देखिन्छन्।
हिजो माधव नेपालले प्रचण्डसँग मिलेर माझण्ड मोर्चा बनाउँदै नेकपा एमालेलाई सत्ताबाट हटाएर नेपाली कांग्रेसलाई सत्ताको नेतृत्वमा मात्र पुर्याएनन्, नेपालको वामपन्थी आन्दोलन नै विभाजित बनाएर दक्षिणपन्थी अवसरवादलाई बलियो बनाउने मुख्य भूमिका खेलेका थिए। यदि त्यतिखेर माधव नेपालले प्रचण्डलाई साथ नदिएर केपी ओलीलाई प्रधानमन्त्री र पार्टीको अध्यक्षबाट हटाउने षडयन्त्रमा नलागेको भए न् मध्यावधि निर्वाचनको घोषणा हुन्थ्यो न त नेकपा नै विभाजन हुने थियो। तर त्यतिबेला माधव नेपालले केपी ओलीको ख्यातिमा पार्टी र आफ्नो प्रगति देख्न सकेनन्। यतिबेला आएर नेकपा व्युँताउँ भन्नु वामपन्थी आन्दोलनको मूलधार नेकपा एमालेलाई अझ कमजोर बनाउने बाह्य षडयन्त्रको अर्को रूप हो भनेर शंका गर्नुपर्ने अवस्था बनेको छ।
२०४६ को जनआन्दोलनपछि बलियो बन्दै गरेको वामपन्थी आन्दोलनलाई जनमुखी र देशमुखी बनाउँदै अझ बलियो बनाउने तत्कालिन महासचिव मदन भण्डारीको षडयन्त्रमूलक हत्यापछि नेतृत्वमा आएका माधव नेपालले वामपन्थी आन्दोलन कमजोर बनाउने गरी नेतृत्व गरेका थिए भनेर २०७८ आएर प्रमाणित भयो। २०५४ सालमा होस् कि २०७८ सालमा नेकपा एमालेमा विभाजन माधव नेपाल कै कारणले भएको थियो। उनको कार्यकालमा एमालेलाई न भाले न पोथी भनिन्थ्यो। अहिले तिनै माधव नेपालको नेकपा व्युँताउने चाहाना आफ्नो असफलता लुकाउने बाहाना हो भन्दा फरक पर्दैन्। चेतना भया ।