११ कार्तिक २०८१, आइतबार 1730053023
Banner

सात प्रदेशले ल्याए दुई खर्ब ७७ अर्ब ६१ करोड ९६ लाख रुपैयाँ बजेट

काठमाडौं : सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०८०र८१ लागि पौने तीन खर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। सात प्रदेशका आर्थिक मामिलामन्त्रीले शुक्रबार कुल दुई खर्ब ७७ अर्ब ६१ करोड ९६ लाख रुपैयाँ बजेट प्रस्तुत गरेका हुन्।

प्रत्येक आर्थिक वर्षको असार १ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुरूप शुक्रबार ६ प्रदेशले नयाँ बजेट सार्वजनिक गरेका हुन्। कोशी प्रदेशले बिहीबार नै अध्यादेशमार्फत बजेट सार्वजनिक गरेको थियो। चालु आर्थिक वर्षमा सात प्रदेशले तीन खर्ब पाँच अर्ब ४६ करोड २६ लाख रुपैयाँको बजेट ल्याएका थिए। आगामी आर्थिक वर्षका लागि छ प्रदेशमा बजेट घटेर आए पनि कर्णाली प्रदेशमा भने बजेट सामान्य बढेको छ।

सात प्रदेशमध्ये बागमतीको बजेट सबैभन्दा ठूलो छ। उसले नयाँ आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। ​सबैभन्दा सानो बजेट सुदूरपश्चिम प्रदेशको २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको छ।

अधिकांश प्रदेश सरकारका बजेटले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्या समाधान गर्न आन्तरिक उत्पादन बढाउनेतर्फ बढी जोड दिएका छन्। त्यसका लागि कृषि उत्पादन वृद्धि तथा प्रदेशअनुसार सम्भावित उत्पादनलक्षित कार्यक्रम बजेटमा समावेश गरिएका छन्।