१२ मंसिर २०८१, बुधबार 1732697595
Banner

चित्त नबुझ्ने गठबन्धन फेरिन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले गठबन्धन ठिक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्नेकुरा नौलो नभएको बताए। उनले नेपाली काँग्रेसले सरकार छोड्नुपर्छ की भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको बताए। उनले सरकार छोड्नपरे पनि नडराइकन एक्लाएक्लै चुनाव लड्न काँग्रेसले सक्नुपर्ने बताए।

उनले समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिष्टहरु एकै ठाउँमा भएपनि काँग्रेसलाई फरक नपर्ने बताए।

उनले भने, ‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, कांग्रेस छोड्दिन भन्छ भने आज हामी सरकार गए जाओस् भन्न नसक्ने ? जाओस् न त सरकार। ५ वर्ष जाओस्, १० वर्ष जाओस्।’

उनले कांग्रेसले प्रायश्चित गर्ने पर्ने बताए । कांग्रेसको सरकार नबन्ला, अरुको सरकार बन्ला भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गल्ती भएको उनले बताए । ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ’ थापाले थपे, ‘नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन। बन्छ, भत्किन्छ भइराख्छ ।’