११ कार्तिक २०८१, आइतबार 1730045522
राजनीति

जिल्ला निर्वाचन कार्यालय सिडिओमा गाभ्नेविरुद्ध रास्वपाले विरोध गर्ने

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय सिडिओमा गाभ्ने तयारी गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आज प्रतिनिधि सभा बैठकमा विरोध जनाउने भएको छ।

बैठक बिहान ११ बजेलाई बोलाइएको छ। आज विभिन्न मन्त्रालयको बजेटमा सांसदहरूले उठाएको प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ।

प्रतिनिधि सभाको हिजोको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संवैधानिक निकायको कार्यालय गृहमन्त्रालय मातहतको जिल्ला प्रशासनमा गाभ्न नमिल्ने भन्दै ध्यानाकर्षण गराएका थिए।

‘जिल्ला निर्वाचन कार्यालयहरू खारेज गरी जिल्ला प्रशासन कार्यालअन्तर्गत् राख्ने व्यवस्था गरियो। सभामुखमार्फत् लोतकन्त्रमाथि भएको यो षड्यन्त्रको राष्ट्रिय स्वतन्त्र पार्टी घोर भर्त्सना गर्छ। यो राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्था हो।

यो व्यवस्थामाथि षड्यन्त्र गर्न पाइँदैन। स्वतन्त्र र संवैधानिक व्यवस्था भएको निर्वाचन आयोगलाई सरकारको सिडिओ कार्यालयमार्फत् राख्नु यो राजनीतिक कुचेष्टा हो। र, यसले लोकतन्त्रलाई बलियो बनाउँदैन भन्ने हाम्रो ठम्याइ छ,’ उनले भनेका थिए।

मंगलबारको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बोल्ने कार्यसूची पनि छ। त्यसभन्दा अगाडि विरोध गरेर जवाफ माग्ने चित्तबुझ्दो जवाफ नआए अवरूद्धसमेत गर्ने रास्वपाको तयारी रहेको उसले बताएको छ।

रास्वपाका उपसभापति तथा प्रतिनिधिसभा सदस्य डिपी अर्यालले आज संसदमा विरोध जनाइने बताए। जिल्ला निर्वाचन कार्यालय सिडिओमा गाभ्दा जनताको मताधिकारलाई अप्ठ्यारोमा पार्ने रास्वपाको बुझाइ छ।

त्यतिमात्र होइन, उसले स्वतन्त्र रूपमा जन्मिएका पार्टीहरूलाई राष्ट्रिय राजनीतिमा बन्देज लगाउन षड्यन्त्रको रूपमा यसलाई लिएको छ।