११ कार्तिक २०८१, आइतबार 1730038853
राजनीति

लुम्बिनीमा मुख्यमन्त्रीको सम्बोधन, बैठक सन्चालन गर्न एमाले तयार

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्बोधन गर्ने भएको छ । मुख्यमन्त्रीसहितको छलफलपछि एमालेले बैठकमा अवरोध नगर्न तयार भएपछि मुख्यमन्त्री चौधरीले सभामा सम्बोधन गर्ने भएको हो ।

बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेले बैठकमा अवरोध गर्दै आएको थियो। मंगलबारको बैठक एमालेले बहिस्कार गरेको थियो। यद्यपि एमालेको बहिस्कारका बीच आर्थिक वर्ष २०८०-८१ को बजेट प्रदेशसभाले पारित गरेको थियो।

बुधबार दिउँसो १ बजे पनि प्रदेशसभाको बैठक राखिएको छ। बैठकको पूर्वसन्ध्यामा सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चौधरी, नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी, उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुलसी चौधरीसहितको बैठक बोलाएका थिए।

एमालेले असार १३ गतेदेखि बजेटमाथिको छलफलमा अवरोध गर्दै आएको थियो। मंगलबारको बैठकमा एमालेले बजेट किताब च्यातेर बहिस्कार गरेको थियो। त्यसपछि सभामुख घर्तीमगरले बैठक अनिश्चितकालका लागि स्थगित भएको घोषणा गरेका थिए।