काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले आफूहरूलाई बोलाइएको बैठकदेखि पार्टीले गर्ने विभिन्न निर्णयहरूमा असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबारदेखि सुरु भएको जिल्ला सभापतिको भेलामा महान्त्रीलाई बैठकबारे प्रश्न गरेका सभापतिहरूले बजेट निर्माण, पार्टीले गर्ने अनुशासनको कारबाही, भ्रातृ संगठन विस्तार लगायतको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् ।
केही सभापतिले बैठक पार्टीले राखेको हो कि महामन्त्रीहरूले मात्रै हो भन्ने प्रश्न गर्दा धेरै सभापतिहरूले भने पार्टीप्रति निराशा व्यक्त गरे। उनीहरूले संघ र प्रदेश सरकारले ल्याएको बजेटमा आफूहरूलाई जानकारी नदिइएको, पार्टीले अनुशासन कारबाही गर्दा जिल्ला सभापतिलाई कुनै भूमिका नदिइएको वा नसोधिएको, भ्रातृ संस्था विशेष गरी (तरूण दल) विस्तार गर्दा जानकारीसमेत नदिइएको विषयमा असन्तुष्टि राखेका थिए।
बैठक आज पनि बस्दैछ। पार्टी कार्यालय सानेपामा बिहान ११ बजेदेखि बैठक सुरू हुने बताइएको छ।
बैठकमा ४२ जिल्ला सभापति र १८ जिल्लाबाट प्रतिनिधि सहभागी छन्। बिहीबार २६ जना जिल्ला सभापतिहरूले जिल्ला पार्टीको गतिविधि र समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राखेका थिए।
आज बाँकी जिल्ला सभापतिहरूले धारणा राखेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बोल्नेछन्। काठमाडौं नआएका जिल्ला सभापतिलाई जुममार्फत बैठकमा सहभागी गराइएको थियो।
सदस्यता वितरण, नवीकरण र अभिलेकीकरण, विभिन्न तहमा गर्नुपर्ने सम्मेलन, पार्टी सञ्चालन र व्यवस्थापनबारे महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूसँग बैठक गरेका हुन्।
२०७८ मंसिरको १४ औं महाधिवेशनपछि कांग्रेसले पहिलो पटक जिल्ला सभापतिहरूसँग बैठक गरेको हो।