११ कार्तिक २०८१, आइतबार 1730023836
Banner

जीवन आचार्य : प्रचण्डको जुवाइँ भएकै कारण सधैँ मन्त्री

काठमाडौं । पछिल्लो समय प्रचण्ड परिवारका सदस्यका कारण पार्टी भित्र ठुलो असन्तुष्टि छ । आम रूपमा परिवारवादको आरोप लागिरहने प्रचण्डलाई पार्टी भित्रको परिवारवादको असन्तुष्टि अली फरक छ ।

प्रचण्डले नाता-गोता इष्ट मित्र सबैलाई लाभको पदमा राजनीतिक नियुक्ती दिएको आम रूपमा लाग्ने आरोप पार्टी भित्र खास छैन । किनकी उनीहरू विगतदेखि पार्टीको कुनै न कुनै जिम्मेवारीमा रहेर आएकाहरू नै हुन् ।

तर, पछिल्लो समय प्रचण्डको कान्छा जुवाइँ जीवन आचार्यका कारण भने पार्टी भित्र ठुलो असन्तुष्टि पैदा हुँदै गएको छ । कोशी प्रदेशका कुनै पनि माओवादी नेताहरू आचार्यको गतिविधि प्रति सन्तुष्ट छैनन् ।

आचार्य यस अघिको नेकपा एमालेको नेतृत्वमा सरकार हुँदा पर्यटन मन्त्री थिए । प्रदेश समितिले अरूनै सांसदलाई मन्त्री बनाउने निर्णय गरेपनि प्रचण्डको निर्देशनमा आचार्यलाई मन्त्री बनाइएको थियो । माओवादीसँग आचार्यको साइनो भनेको गंगा दाहालसँग विवाह गरेपछि मात्र जोडिएको हो । पार्टी निर्माणमा उनको न हिजो न आज कतै पनि भूमिका नभएको माओवादीका नेताहरू बताउँछन् ।

पार्टी अध्यक्ष प्रचण्ड आफ्नो ससुरा भएपछि उनी पार्टीमा अध्यक्ष पछिको सेकेन्ड म्यान बन्न खोज्छन् । उनको यस्तो गतिविधिको सबैभन्दा बढी विरोध युवा सर्कलमा छ । वाइसिएका इन्जार्च एवं पार्टीका पोलिटव्यूरो सदस्य दीपशीखाले सामाजिक सञ्जाल फेसबुकमा समेत उनको विरोध गर्छन् ।

आचार्य कै कारण कोशी प्रदेशमा माओवादी भित्र आन्तरिक विवाद बढ्दो छ । शुक्रबार अपराह्न माओवादीका प्रदेश इन्चार्ज राम कार्कीसहित बसेको नेकपा माओवादी संसदीय दलको बैठकमा आलोपालो सांसदहरू मन्त्री बन्नुपर्ने आवाज उठ्यो । सांसदहरूको आवाजलाई सम्बोधन गर्दै आचार्यसँगै अघिल्लो सरकारमा मन्त्री भएका दुर्गाप्रसाद चापागाईंले मन्त्री नबन्ने घोषणा गरे । सुरुमा उनी पनि मन्त्री दोहो¥याउने मनस्थितिमै थिए ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत पार्टीमा आलोपालो सरकारमा जाने मत उठे पनि आफू सरकारमा नजाने घोषणा गरेका चापागाईंले लेखेका छन्, ‘कोशी प्रदेश सरकार निर्माण सम्बन्धमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलभित्र माननीयज्यूहरुले राख्नु भएको आलोपालो गरौँ भन्ने राय, सुझावलाई आत्मासात गर्दै म यस पटक सरकारमा नजाने निष्कर्षमा पुगे ।’

पार्टीमा लामो संघर्ष गरेर आएका सहकर्मीले यसो भनिरहँदा सरकार बनाउन आफूले ठुलो भूमिका खेलेकाले आफूलाई नै मन्त्री बनाउनुपर्ने आचार्यले दाबी गरे । उनको यो दाबीका बीच धेरै सांसदको विरोध हुँदाहुँदै पनि उनलाई मन्त्री बनाउने निर्णय भएको हो । किनकी आचार्यको अडानमा योभन्दा पहिले सिंगो प्रदेश समितिले आफ्नो निर्णय परिवर्तन गर्नु परेको थियो । उनकै सत्ता स्वार्थका कारण अघिल्लो एमालेको सरकार ढाल्न गठबन्धन दललाई हम्मेहम्मे परेको थियो ।

कोशी प्रदेश सरकार अहिले सरकार पक्ष र प्रतिपक्षमा १ सिटको तलमाथि छ । त्यही अंकगणीतका कारण पनि आचार्य बार्गेनिङ गरिरहन्छन् । आफ्नो अडानमा टसमस नहुने उनी प्रदेशमा केही सीप लागेन भने सिधै ससुरा बा मार्फत् दबाब बढाउँछन् ।

सांसद नारायण बहादुर मगर अघिल्लो पटक थोरै समय मन्त्री भएको कारण अहिले उनलाई दोहोर्‍याएको बताउँछन् । उनी भन्छन्, ‘अघिल्लो पटक थोरै समय मन्त्री भएर अहिले दोहोर्‍याउनु भएको होला ।’

शुक्रवार नै मन्त्री हुने पक्का भएका आचार्यलाई आज पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शुक्रबार नेपाली कांग्रेसका तर्फबाट प्रदीप सुनुवार र एकीकृत समाजवादीबाट कमल प्रसाद जवेगु विना विभागीय मन्त्री नियुक्त भएका थिए । प्रचण्डका जुवाइँ आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाउने गरी सपथ खुवाइएको मगरले बताए ।