१७ बैशाख २०८३, बिहिबार 1777574492
समाचार

आज भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थानभन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थानभन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आँशिकदेखि सामान्य बदली रहेको छ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ‍केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेशका एक–दुई स्थानमा मेघ-गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको महाशाखाले जाकारी दिएको छ।

राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन-चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ भने मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षा र हावाहुरीका कारण सबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने महाशाखाको आकलन छ।

त्यसकारण हावा-हुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।