११ कार्तिक २०८१, आइतबार 1730023961
Banner

आज पनि उपाध्यक्षहरूसँग ओलीले छलफल गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षहरूसँग छलफल थालेका छन्। पार्टी संगठन सुदृढीकरण र परिचालनका लागि छलफल थालेको उपाध्यक्षहरूले बताएका छन्।

अध्यक्ष ओलीले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ र विष्णु पौडेलसँग छलफल थालेका हुन्।

अध्यक्ष ओलीले बुधबार पनि उपाध्यक्षहरूसँग छलफल गरेका थिए। आज पनि दिउँसो २ बजेपछि छलफल गर्ने एमालेले जनाएको छ । समसामयिक मुलुकको अवस्था, पार्टीको सांगठनिक जीवनबारे ओलीले उपाध्यक्षहरूसँग छलफल गर्न लागेका हुन् ।

एमालेले ३० गते सचिवालय बैठक बोलाएको छ। पार्टीमा सम्वाद, छलफल कमजोर बन्दै गएको गुनासो बढेपछि अध्यक्षले उपाध्यक्षसँग पनि छलफल थालेको एक नेताले बताए।

यसपटक एमालेले विभागहरूको संयोजनको जिम्मा उपाध्यक्षहरूलाई दिएको छ। साथै साझा कार्यक्षेत्र पहिल्याउन र तिनका नीतिहरूमा सामञ्जस्यता ल्याउन परामर्श गर्ने जिम्मा पनि उपाध्यक्षहरूलाई दिएको एमालेले बताएको छ।