१० कार्तिक २०८१, शनिबार 1729995731
Banner

पत्नीको मृत्युमा प्रकट जनअभिव्यक्तिले देशप्रति अझ जिम्मेवारीवोध गरायो : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालको मृत्युमा प्रकट भएको जनअभिव्यक्ति र जनउभारले आफू र परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारीवोध गराएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने,‘नेपाली समाजमा व्याप्त आर्थिक, सामाजिक, साँस्कृतिक असमानताको अन्त्य गर्न मैले मेरो बाँकी जीवनमा झनै सक्रिय भएर सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा पनि जनताको अपार समर्थन र यहाँहरु सबैको सदभाव र समवेदनाले व्यक्त गरेको हामीले महसुस गरेका छौं ।’

यस्तै, उनले पत्नी सीता दाहालको आफू पत्नी वियोगमा परेका बेला सबैले दिएको साथका कारण पीडाबाट निस्किन र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताए ।

‘शोकको यो घडीमा यहाँहरुको साथ, समवेदना र सदभावले हामीलाई पीडाबाट निस्कनमात्र मद्दत गरेको छैन, बरु देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस गरेका छौं, मैले र हाम्रो परिवारले, उनले भने ।

श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका नेता झनाथ खनाल, नेसपा अध्यक्ष डा। बाबुराम भट्टराई, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको सहभागिता थियो ।