११ कार्तिक २०८१, आइतबार 1730016747
Banner

प्रधानमन्त्री दाहाल इटाली प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड इटाली गएका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य तथा छोरी गङ्गा दाहाल पनि भ्रमणमा छन् ।

प्रधानमन्त्रीको अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उहाँले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोही दिन नै प्रधानमन्त्री दाहाल विद्यालय भोजनको बारेमा आयोजना गरिएको छलफल सत्रमा सहभागी हुनेछन। यसैगरी उहाँ साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी हुनेछन ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ ।

नेपालको खाद्य सुरक्षाका अलावा, नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेसमेतमा त्यस अवसरमा महत्त्वपूर्ण छलफल हुने कार्यक्रम छ । यस्तै, रोममा गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।