११ कार्तिक २०८१, आइतबार 1730030779
पालिका

मेरो कार्यकालमा आफ्नै वडा भवनबाट सेवा प्रवाह हुन्छ : अध्यक्ष खड्गी

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भएको एक वर्ष पार भइसकेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै ७५३ स्थानीय तह सो मातहत रहने वडा कार्यालयबाट नेपालको संविधान, संघीय कानुन, प्रदेश कानुन र स्थानीय शासन ऐन २०७४ लगायत कानुनको अधिनमा रहेर वडाकार्यालय पनि सञ्चालन भइरहेका छन् । वडाबाट कस्ता–कस्ता सेवा प्रवाह हुन्छन् । कस्ता–कस्ता समस्या सिर्जना हुन्छन्, र तिनको निराकरण कसरी गरिन्छ जस्ता जिज्ञासा मेटाउन काठमाडौं महानगरपालिकाका वडा नम्बर २८ का वडाध्यक्ष भाईराम खड्गीसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, सूचनाप्रेसले गरेको कुराकानीको सम्पादित अंश उनकै शब्दमा :–

यो एक वर्षको समयमा पूर्वाधार पुननिर्माणको कार्य सम्पन्न भएका छन् । सामाजिक कार्यअन्तर्गत महिलाहरुका लागि सिलाइबुनाइ, अचार बनाउने सीप विकासका कार्य भएका छन् । पूर्वाधार विकासमा ढल बाटो निर्माण, सीसी क्यामेरा राख्नेदेखि बिजुलीबत्ती राख्ने काम भए । हाम्रो वडा घना बस्ती भएको वडा हो । यहाँको मुख्य समस्या ढलको हो । हामी यो एक वर्ष ढल, बाटो निर्माण तथा पुनर्निर्माणमै केन्द्रित भयौँ । यसअघि वर्षातको समयमा ढलको पानी घरघरमा पस्थ्यो । अहिले त्यो अवस्थाबाट हामीले मुक्ति पाएका छौँ ।

पाँचवर्षे कार्यकालमध्ये एक वर्षको अवधि पार भइसकेको छ । यो अवधिमा मैले विकास निर्माण कार्यमा स्थानीय साथीहरुलाई राखेर आवश्यक विकासका कार्य अघि बढाएको छु । त्यसले पनि हुन सक्छ मेरो कार्यकालमा कुनै पनि समस्या आएनन् ।

दैनिकजसो यहाँ एक सयजति सेवाग्राही आउने गरेका छन् । चुनावी दौरानका क्रममा मैले जे प्रतिबद्धता गरेको थिएँ । त्यहीअनुरुप काम गरिरहेको छु । यो अवधिमा कुनै पनि किसिमका गुनासा आएका छैनन् । हाम्रो वडाका कुनै पनि नयाँ योजना छैनन् । हाम्रो मुख्य समस्या ढल र पानी हो यिनै दुई कुरालाई सम्बोधन गर्न आवश्यक छ ।

अहिले हामीले वडा कार्यालय भाडामा लिएका छौँ । बग्गीखानाभित्र महानगरको सरकारी जग्गा रहेछ । अब हामी त्यहीँ जग्गामा वडाकार्यालय बनाउँछौँ । वडा भवन बनाउनका लागि वडावासीकै माग छ । त्यहीअनुरुप हामी भवन बनाउन लागिपरेका छौँ । त्यहाँ हाम्रो सात रोपनीभन्दा केही बढी जग्गा रहेछ । मेरै कार्यकालमा वडाकार्यालय आफ्नै भवनमा हुनेछ ।

हाम्रो वडामा सेवाग्राहीको सेवा प्रवाहको विषयमा खासै गुनासो छैन । यहाँबाट प्रदान हुने र मिल्नेजति सेवा हामीले प्रवाह गरिरहेका छौँ । यो एक वर्षको अवधिमा धेरैजसो मुद्दा साँध सीमानाकै समस्या आए । त्यसमा पनि दाजुभाइबीच भएका मनबुटाव बढी छन् । यसखालका मुद्दालाई हामीले दुवै पक्षलाई राखेर वडा न्यायिक समितिबाट निराकरण गर्ने गरेका छौँ ।