११ कार्तिक २०८१, आइतबार 1730017026
Banner

भ्रष्टाचारबारे कांग्रेस : बोल्छ एउटा, गर्छ अर्को

काठमाडौं । कांग्रेस सुशासन आफ्नो पहिलो प्राथमिकता भएको दाबी गर्छ । सुशासन र भ्रष्टाचार सँगसँगै जान नसक्ने बताउने कांग्रेस भ्रष्टाचार निर्मूल गर्न २१ वर्ष पहिले २०५९ सालमा कांग्रेसकै पहलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन गरेको बताउँछ ।

भ्रष्टाचारविरुद्ध यसरी आफ्नो कुरा राख्ने कांग्रेस व्यवहारमा भने प्रष्ट छैन । कुनै नेताले भ्रष्टाचारको विरोध गर्दा सबैले समर्थन गरे पनि कांग्रेस भित्र भ्रष्टाचारको विरोध गर्ने नेताहरू सिमित छन् । कांग्रेसका बहुमत नेताहरू भ्रष्टाचारको पक्षमा छन् । अहिलेसम्म अदालतले भ्रष्टाचारमा दोषी देखाएका राजनीतिक नेताहरूमा पनि धेरै कांग्रेसकै नेता छन् ।

१४औं महाधिवेशनपछि बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले भ्रष्टाचारलाई निर्मल गर्न कांग्रेस प्रतिवद्ध भएको घोषणा ग¥यो । महामन्त्री विश्व प्रकाश शर्माले प्रस्ताव गरेको १८ बुँदे प्रस्तावको २ नम्बर बुँदामा ‘जो कोही व्यक्तिले पनि भ्रष्टाचारको कसूर गरे कानून बमोजिम कडा भन्दा कडा दण्डसजाय गरि मुलुकलाई भ्रष्टाचारमुक्त गर्न नेपाली कांग्रेस सदैव प्रतिवद्ध रहदै आएको छ र भविष्यमा पनि रहनेछ’ भन्ने उल्लेख छ । जुन केन्द्रीय समितिले पास पनि गरेको छ ।

कांग्रेसले पास गरेको उक्त प्रस्तावमा थप भनेको छ, ‘नेपाली कांग्रेसको जगमा उभिएको यो सरकारले थालेका नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण लगायतका भ्रष्टाचार विरुद्धका कदमहरूमा हाम्रो पार्टीको साथ समर्थन रहेको विदितै छ । ‘भ्रष्टाचारका सन्दर्भमा कुनै पनि दोषी नउम्किउन र कोही निर्दोष नफसुन’ भन्ने हाम्रो पार्टीको नीति रहेको छ ।’

तर, केन्द्रीय समितिबाट यसरी प्रष्ट रूपमा भ्रष्टाचारको विषयमा आफ्नो कुरा बोलेको कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको आफ्ना नेता बालकृष्ण खाँणको बारेमा भने मौन बस्यो । केन्द्रीय समिति बैठकमा उनको विरुद्धमा केही सदस्यले बोल्दा धेरै सदस्यले उनलाई पक्राउन गर्न गलत भएको बताए । यहि तथ्यले कांग्रेस भ्रष्टाचारको विषयमा एउटा बोल्छ र अर्को गर्छ भन्ने पुष्टि गर्छ ।

‘भ्रष्टाचार जघन्य अपराध हो । यसको कुनै जात, धर्म, लिङ्ग, वर्ण, सम्प्रदाय वा राजनैतिक दल हुदैन ।’ यो कांग्रेसको बोल्ने भाषा हो । तर, आफ्नो नेतासँगै पक्राउ परेको अन्य पार्टीका नेताहरूलाई उनको पार्टीले निलम्बन गर्दासमेत कांग्रेस आफ्नो पार्टीको नेताको विषयमा मौन रहन्छ । सार्वजनिक रूपमा उठेका विषयले समेत कांग्रेसको केन्द्रीय समिति बैठकमा खास स्थान पाउँदैन ।

६ दिनसम्म दिनभरजसो भएको छलफलमा केन्द्रीय सदस्यहरुले सबभन्दा धेरै समय नेतृत्वको बचाउ र आलोचना गरे । धेरै नेताले बोलेको विषय थियो, भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता खाँण ।

फौजदारी अभियोग लागेपछि महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माले निलम्बन गर्नुपर्ने मत राख्दै आएका थिए । केन्द्रीय कार्यसमितिमा पनि संस्थापन इतर समूहका केही नेताहरूले खाँणलाई निलम्बन गर्नुपर्ने मत राखे ।

तर, सहमहामन्त्रीद्वय महेन्द्र यादव र महालक्ष्मी उपाध्यक्ष डिनासहित संस्थापन पक्षका नेताहरुले नेता खाँणको बचाउ मात्र गरेनन्, खाँण पक्राउ परेकै दिन २७ वैशाखमा कांग्रेसकै नेताहरुले गृहमन्त्रीलाई भेटेर खुट्टा नकमाउन भनेको भन्दै आपत्ति जनाए ।

बुधबार सम्पन्न भएको कांग्रेस केन्द्रीय समिति बैठक खाँणको विषयमा मौन बस्यो । न खाँणलाई निलम्बन ग¥यो, न उनको बचाउमा केही बोल्यो । आरोप लागेर प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको एउटा नेतालाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्छौ भन्न नसक्ने कांग्रेस यी कुराले पनि बोली र व्यवहारमा फरक छ, भन्ने पुष्टि गर्छ ।