८ मंसिर २०८१, शनिबार 1732415628
Banner

महिना दिनमै उप्कियो मध्यपहाडी लोकमार्गको कालोपत्र

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डमा पर्ने करिब एक सय ४२ किलोमिटरमध्ये अधिकांश सडक कालोपत्र भइसकेको छ । बागलुङ–घोडाबाँधे खण्डको १५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ ।

वर्षौंअगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि अहिले मर्मत भइरहेको छ । निर्माण कम्पनीले केही दिनमै काम सक्ने गरी तीव्रता दिए पनि मर्मत भएका केही ठाउँमा बीच भागमै कालोपत्रे उप्किएको छ ।

एक महिना नबित्दै कालोपत्र उप्किन थालेको भन्दै स्थानीयले निर्माण कम्पनी र सरोकारवाला निकायले लापरबाही गरेको आरोप लगाएका छन् । विसं २०७९ असार २२ मा लोकमार्ग कार्यालयसँग सम्झौता गरी जोशी निर्माण कम्पनी काठमाडौँले काम थालेको थियो ।

निर्माण कम्पनीले कालोपत्र गरेको लोकमार्गको नरठाँटी, काफलठूटा, झाँक्रीस्थानलगायत ठाउँमा उप्किएको यात्रु तिलबहादुर खत्रीले बताए । यस क्षेत्रमा कालोपत्र भएको महिना दिन पनि नपुगेको भन्दै उहाँले यसरी काम गर्दागर्दै कालोपत्र उप्किँदा आवागमनमा सास्ती भएको बताए ।
‘के काम गरेको होला यस्तो, काम गर्दैछ, सडक उक्किँदैछ, यस्तो पनि हुन्छ, सरोकारवाला निकायले निगरानी गर्नुपर्ने हो,’ खत्रीले भने, ‘यसको जिम्मेवारी कसले लिने,’ गुणस्तरहीन काम भएकोप्रति स्थानीय सरकारको छिटो ध्यान जाओस् र समाधान खोजियोस् ।’

निर्माण कम्पनीले रू १३ करोड ९९ लाखमा आगामी असोज २१ गतेसम्म सडक मर्मत सक्ने गरी ठेक्का लिएको थियो ।

मध्यपहाडी लोकमार्गका इञ्जिनियर राजन पाण्डेले मर्मतका लागि तोकिएको रकममध्ये रू एक करोड भुक्तानी लिन बाँकी रहेको बताए। उनले जेठमा कालोपत्र भएको स्थानमा पहिरो र भल आएर भत्किएकाले उक्त स्थानमा पुनः मर्मत गरिने जानकारी दिनुभयो । पाँच किलोमिटर कालोपत्र गरेकामा करिब ५० मिटर सडकमा उप्किने र भत्किने समस्या भएको उनको भनाइ छ ।

‘अहिले जहाँजहाँ भत्किएको छ, सोही स्थानमा यसअघि पनि भत्किने गरेको रहेछ, भौगोलिक नाजुकताका कारण यो समस्या आएको हो,’ इञ्जिनियर पाण्डेले भने ‘जेठामा कालोपत्र गरेपछि ठूलो पानीसँगै भल आयो र भत्कियो । यसलाई निर्माण कम्पनीले पुनःमर्मत गर्नेछ ।’ उनले भत्किएका स्थानमा कालोपत्र भन्दा ढलान गर्नुपर्ने बताए ।

Tags :