११ कार्तिक २०८१, आइतबार 1730017170
अर्थ

प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेदेखि हुम्लासहित कर्णालीका हिमाली जिल्लामा उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका नागरिक आन्दोलित भएका छन् ।

प्राधिकरणको नियमविरुद्ध बुधबार बिहान त्यहाँका नागरिक समाज, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार महासङ्घ लगायतले सिमकोट विमानस्थलमा धर्ना दिएर आन्दोलित भएका हुन् ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नीहित स्वार्थ राखेर हवाई उडानमा नयाँ नियम ल्याएको उनीहरूको आरोप थियो ।

हवाई उडान नहुँदा नागरिक प्रत्यक्षरुपमा मारमा परेको हुम्ला होटेल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भीम लामाले बताए ।
प्राधिकरणको नियमका कारण हवाईजहाज र हेलिकप्टरले हुम्लामा उडान नभर्दा चार बालबालिकाको मृत्युसमेत भएको उनको आरोप थियो ।

प्राधिकरणले १२ः३० बजेपछि हुम्लासहित २९ वटा विमानस्थलमा हवाई उडानमा लगाएको र नयाँ निमयविरुद्ध आफू पनि आन्दोलनमा उत्रिएको नागरिक समाजका अध्यक्ष गणेश महतले बताए ।

हिजो पहिलो दिन धर्ना दिने कार्यक्रम भए पनि प्राधिकरणले निर्णय फिर्ता नलिए विमानस्थल बन्द गर्नेदेखि कडा आन्दोलनमा उत्रिने उनले बताए । ठाउँ र भूगोल सुहाउँदो निर्णय गर्नुपर्नेमा जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाम्ग्याल तामाङले जोड दिए ।