काठमाडौं । देशले टुहुरो बनाएका, देशभित्र केही गर्छु भन्दा आत्मदाह गर्न विवश पारेका तथा साउदीतिरका नवाब साहुजीहरूकहाँ बाँधा बस्न बाध्य बनाएका युवाहरूको मनको ढुकढुकी लिएर नेपाली र्यापगीत नेपाली गीत बजारमा आएको छ । समग्र नेपाली जनता र विशेष गरी युवाले सुन्नैपर्ने यो गीतलाई शर्मा प्रोडक्सन युट्युब च्यानलले रिलिज गरेको हो । यस गीतलाई युट्युवको वालमा ओए भ्रष्टतन्त्र शीर्षकमा वा शर्मा प्रोडक्सन कउ सर्च गरेर त्यसको वालमा सुन्न र हेर्न सकिन्छ ।
लोकतन्त्रको आवरणमा भ्रष्टतन्त्रको द्यूतगृह अर्थात जुवाघर जस्तै बनेको छः नेपाल । दलका दुर्योधनहरू जनताले देख्नेगरी एक आपसमा मारामार र काटाकाट गरेको नाटक गर्छन् । उनीहरू प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका खालमा राजनीतिको शकुनी पासा थाप्छन् । बिचरा जनताहरू यो खालमा त वास्तविक लोकतन्त्र आउला कि भनेर ज्यानको बाजी थाप्छन् । जनताले थापेको बाजी र झ्न्डै जनताको पक्षमा परेको पाशा भुइँमा खस्न नपाउँदै अघिसम्म झगडा गरेझैँ नौटङ्की गरिरहेका नेताहरू “मारा…… आआआआ” भन्दै पाशा सोहोर्छन् आफूहरू बाँडचुड गर्छन् ।
२००७ सालदेखि लिएर २०६२ सम्मका हरेक आन्दोलन र लडाइँमा जनताले जितेको पाशालाई पालैपालो र पटकपटक आफ्नै पोल्टामा पार्ने यो षडयन्त्रकारी झेली खेल चलिरहेँछ ।
यस षडयन्त्रकारी खेलमा जनता निरन्तर हारिरहेछ एकाध अपवादबाहेक सबै नेतो, नेतोको नालनातो, नेतीको कुटुम्ब, नेतोको हुक्के, बैठके र ढोकेले निरन्तर जितिरहेछ । जनता पुर्पुरोमा हात राखेर हिक्का छाडिरहेछ, निरन्तर धोका खाइरहेछ । श्रीसम्पत्ति सबै ऋणको खालमा हारेर हारेको कर्म लिई आफ्ना सन्तानलाई अरबको खाडीमा डढाइरहेछ । श्रमजीवि युवाहरू खाडीमा डढिरहेछन्, नेताहरू त्यै रेमिटन्स डकार्दै सर्महीन बनेर वातानुकूलित गाडीमा गुडिरहेछन् । यिनै विकृति उनिएको गीतमा युवा आक्रोशित हुँदै गीत यसरी सुरु गर्छः
ओए भ्रष्टतन्त्र, ओए सङ्घीयता
तेरा शाखासन्तान येता, युवा भागे उता
युवालाई खाडी धकेल् रिमिटेन्स उठा
त्यै रेमिटेन्स खाई मोटा तेरिमा फटा
गीत गाउने युवा अहिले रिसले आगो भएको छ र जनतालाई समानताको नारा दिएर आफू सामन्त बनेका नेताको सातो लिने गरी र्याप गाइरहेछ । ऊ युवालाई सचेत पार्दै आफूहरूका सपना निमोठ्ने देशका शासकसँग यसरी प्रश्नहरूको वर्षा गर्दै उसको कुकर्म यसरी नङ्ग्याइरहेछ ।
खै त हाम्रो रोजगारी, खै त हाम्रो पेसा ?
कल्ले लुट्यो हाम्रा सपना, कल्ले लुट्यो आशा ?
नियुक्तिमा भरिस् आफ्नै, छोराछोरी पासा ।
मुलुक लुटी अलिसान, महल बनाइस् खासा
अर्थतन्त्र पारिस् खोक्रो, भरिस् आफ्नै धोक्रो
गुदीजति आफै चुसिस्, जनतालाई बोक्रो
घुसखोरी महामारी, जालो भ्रष्टाचार्को
अझै लुटे छिनाल्दिन्छु, खुकुरीले घोक्रो
यस र्याप गीतका बिचबिचमा मेलोडी पनि छ । र्रयापमा युवा आक्रोशित रूपमा गाउँछ भने मेलोडीमा बडो भावुक र मार्मिक रूपमा गाउँछ । सम्पूर्ण र्याप गीतका बिचमा तीन ठाउँमा गाइएका मेलोडीका सुरुसुरुका तीन अंश यस्ता छन्ः
हाम्ले चुन्या सर्कार् होस् को बिचौलिया ठेक्दार
पेट्रोल छर्की युवा मर्छ मौन छ सिंहदरबार
……………………………..
नेपालीलाई शरणार्थी बनाइ बेच्ने मुर्दार्
पचासौँ लाख लुटी खाने नाइकेको तँ सरदार
…………………………
वाइडबडी पचाउने पेट हो कि ओडार
राच्छेस होस् कि मान्छे होस् जनता परे दोधार
मेलम्चीमा लुट्नु लुटिस् फेर्नु फेरिस् ठेक्दार
नेतालाई पटकपटक आइरहेका प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रले समृद्धिको बम्पर उपहार दिइरहेको छ । तर जनताका गाउँवस्ती उजाड छन् । जनताले सिटामोल नपाएर अकालमा मर्नु परेको छ । महिलाहरू सुरक्षित सुत्केरी हुन नपाएर नवजात शिशुसहित ज्यान गुमाउन विवश छन् तर जनताको बुइ चढेर सत्तारोहण गरेका साँइदुवाहरू नाइटो दुखे वा टाउको दुखे दिल्ली दौडन्छन् भन्दै गणतन्त्रलाई दुर्गन्धित पार्ने नेताहरूलाई युवाले गीतमा यसरी हपार्छ,
देशको धन लुटिखाने तेरिमालाई सिल्ली
नाइटो टाउको दुखे तँलाई जानुपर्ने दिल्ली
…………………………………………………..
झुपडीमा बसिस् हिजो गुन्द्रुक ढिँडो खाइस्
हाम्रै बुई चढिस् देशको ढुलुटीमा पसिस्
गणतन्त्रको भित्ताभरि मुत्नुसम्म मुतिस्
घ्याम्पाजत्रो भुँडी पल्टाइ सुत्नुसम्म सुतिस्
सत्ताधारीप्रति युवाको क्रोध प्रकट भएको यस गीतमा युवाले गीतमार्फत् सत्ताधारीलाई सुध्रन लल्कार्छ अन्यथा तिनीहरूकै घरमा घुसेर हमला गर्नेसम्मको चेतावनी दिन्छ । रोजगारी या स्वरोजगारको सुरक्षाको ग्यारेन्टी चाहेको युवाको भावनामा थप खेलवाड गर्ने छुट कुनै पनि सुन्दर गणतन्त्रमा हुँदैन । तर काजीहरू यही बर्वादीलाई गणतन्त्र ठानिरहेछन् भन्दै गणतन्त्र दोहन गरेर आफ्ना भकारी भर्ने यस्ता पाजीहरूलाई युवाले गणतन्त्रे काजी भन्छ र भ्रष्टहरूको गाला चाट्ने साइदुवालाई गीतमा यसरी हपार्छ र युवाका रिसको आगोमा नखेल्न यसरी गर्जन्छः
सुध्रिने भे सुध्रेस् नत्र, देख्लास् यसै पालि
घुस्छौँ तेर दर्बारमा, फोड्छौँ कानका जाली
जान्नौँ हामी खाडी, चढ्छौँ तेरै गाडी
रोजगारी दि,हाल् नत्र, मिल्काइदिन्चम् झाडी
लाज छैन सरम छैन धेरै बोल्छस् पाजी
भ्रष्टहरूको गाला चाट्ने गणतन्त्रे काजी
युवाहरूको ऊर्जा बालेर परिवर्तन ल्याउने तर युवालाई लात्ती हानेर युवाहरूको ऊर्जाले बलेको परिवर्तनलाई निजी कम्पनीमा अनुवाद गर्नेहरूका विरुद्ध आगो ओकलिएको तीन मिनटको यो गीत आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।