११ कार्तिक २०८१, आइतबार 1730045916
समाचार

‘मानव बेचबिखनमा संलग्न अपराधिलाई राजनीतिक दलले बचाइरहेका छन्’

काठमाडौं । शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङले मानव बेचबिखनमा संलग्न अपराधिलाई राजनीतिक दलले बचाइरहेको आरोप लगाउनुभएको छ ।

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको १७औं दिवसको अवसरमा अखिल नेपाल महिला संघले आज काठमाडौंमा आयोजना गरेको‘मानव बेचबिखनको अवस्था र न्युनिकरण अन्तरक्रिया’मा तामाङले मानव बेचबिखनमा संलग्न अपराधिलाई खबरदारी गनुपर्ने राजनीतिक दलले उल्टै बचाउन खोज्ने आरोप लगाउनुभएको हो ।

मानव बेचबिखन एउटा जघन्य अपराध भएको बताउँदै तामाङले अन्तराष्ट्रि जगतमै यसको जालो फैलिएको स्प्ष्ट पार्नुभयो । १६ वर्षको उमेरमा भारतमा बेचिएको दुई वर्षपछि उद्धार गरी नेपाल फर्काइएकी सिन्धुपाल्चोककी तामाङको सकृयतामा स्थापना गरिएको संस्था शक्ति समूहले २०१७ देखि पिडितहरुको उद्धार गर्दै आइरहेको छ ।

यस्तै कार्यक्रममा सामाजिक अभियन्ता गौरी प्रधानले पछिल्लो समय मानव बेचबिखनको सिकार महिलामात्रै नभई पुरुष पनि हुने क्रम बढिरहेको बताउनुभएको छ । प्रधानका अनुसार शिक्षित व्यक्तिहरु बढि मात्रामा मानव बेचबिखनमा परिरहेका छन् ।

कार्यक्रममा सहभागीहरुले आजको अवस्थासम्म पनि मानव बेचबिखन न्युनिकरण नहुनु निकै दुखद कुरा भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनिहरुले मानव बेचबिखन न्युनिकरणका लागि सबै आ–आफ्नो ठाउँबाट एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

अनेमसंघ कार्यवाहक अध्यक्ष सुमित्रा विसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सर्मिला कार्की,उपमहासचिव शान्ति अधिकारी,महिला हिंसा विरुद्धको अभियान कमिटीका प्रमुख लक्ष्मी कार्की, सचिव नानीमाया थापा, सदस्य निशाकुशुम भण्डारी, पेशागत महासंघका अध्यक्ष पुण्य ढकाल लगायत जनसंगठनका प्रमुख एवम् प्रतिनिधिहरुले मानव वेचविखन न्युनीकरणका लागि महत्वपूर्ण सुझाव राख्नु भएको थियो ।