काठमाडौं । मोरङ क्षेत्र नं ३ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद सुनिल शर्मा पछिल्लो समय निकै नै चर्चामा छन् । सत्तारुढ गठबन्धनका सांसद शर्माले आफनै पार्टीका नेता सरकारमा सहभागि रहेकै बेला भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिएर खबरदारी गरेपछि उनको चर्चा चुलिएको हो ।
सरकारमा सहभागि अर्थमन्त्री प्रकाश शरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीलाई समात्न नसकेको भन्दै शर्माले संसदबाटै राजिनामा दिनुपर्ने अडान राखेपछि उनी निकट कतिपय नेता रुष्टपनि बनेका छन् । तर त्यसको बेवास्ता गदै डा. शर्माले भ्रष्टाचारी जोगाउने आफ्नै दल सहभागि सरकारको निरन्तर आवाज उठाइरहे । देशकै ठूलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैको आँखा छलेर बाहिरिएको ६१ किलो सुन तस्करी प्रकरणविरुद्ध उनले संसदमै अनसन बस्ने चेतावनी समेत दिए । ठुला सुन तस्कर र तस्करीसंग साँठगाँठ गर्ने उच्च तहका नेताहरुलाई छानबिन नगर्ने र भरियालाई मात्र पक्राउ गरेर सरकारले सस्तो लोकप्रियता देखाउन खोजेको भन्दै मन्त्रीहरुविरुद्ध छानविन गर्न दबाब दिइरहे ।
सरकार बिरुद्ध आफनै नेता लागेको भन्दै उनलाई फसाउन नक्कली सटिफिकेटको आरोप समेत लाग्यो र उनी पक्राउ समेत परे तर प्रमुख प्रतिपक्षि दलले समेत सांसद शर्मालाई फसाउने षडयन्त्र गरयो भन्दै साथ दिएपछि उनको लोकप्रियता झनै बढेर गयो । गलत गर्ने आफनै सरकार बिरुद्ध कुनै सांसद बोल्न नसकिरहेको अवस्थामा सांसद शर्मा एक्लै जनताको आवाज उठाइरहेको भन्दै उनको त्यो शैली आम जनताले रुचाएका छन् । मोरङ्ग क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई प्रतिनिधिसभामा निर्वाचित गराएर पठाउन सफल भएकोमा अहिले त्यस क्षेत्रका जनताले गौरवको महशुस गरेका छन् ।
पछिल्लोसमय पुराना राजनीतिक दलहरुसंग वितृष्णा फैलिरहेका बेला नेताको तारिफ गरेको विरलै देख्न र सुन्न सकिन्छ, जुन दुवै सांसद शर्माले पाइरहेका छन् । त्यसो त डा शर्मा मतदातामा प्रिय हुनुको कारण यो मात्र हैन । उनले चुनावी मुद्दा बनाएका सडक, सिँचाइ, खानेपानीको सहज सुविधा र गरिब समुदायकालाई चिकित्सा शिक्षामा निःशुल्क अध्ययन, युवालाई रोजगारी र खोलाको कटानजस्ता समस्यालाई पनि सम्बोधन गर्दै लगेका छन् । आफनो क्षेत्रका युवाका समस्याको समाधान र समाजसेवी छवी बनाउन सफल सांसद शर्मा गठबन्धनका केही नेताको आँखाको तारो बनेपनि आफनो निर्वाचन क्षेत्रमा भने लोकप्रिय नेताको रुपमा चिनिएका छन् ।