८ मंसिर २०८१, शनिबार 1732401213
समाचार

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छन् । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरको निर्णय अनुसार उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको हो ।

उनले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिईन भने बुधबारदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी छन् ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छन् । उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी हुन् भने २०५१ फागुन १० गते स्थायी नियुक्ति लिएकी थिइन् । उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् ।

पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सबैको सहयोगको अपेक्षासहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।