८ मंसिर २०८१, शनिबार 1732358186
Banner

घोषणपत्रमा उल्लेख गरेका वाचा एक वर्षमै पूरा गरेँ : वडाध्यक्ष टीकनारायण श्रेष्ठ (बूनपा–१३)

काठमाडौं । हरेक बिहान सरसरफाइको काम हुन्छ । फोहोर लैजान एक गैर सरकारी संस्थालाई जिम्मेवारी दिइएको छ । सो सस्थाले सरसफाइबाट निस्किएको फोहोर हरेक दिन लैजान्छ ।

यो दैनिकी बूढानीलकण्ठ नगरपालिकास्थित गाम्छा, टुबेट, सापाटारलगायत सात पुराना शहर मिलेर बनेको वडा नम्बर १३ को हो ।

काठमाडौंको किनारमा रहेको स्वच्छ हावापानी भएका पुराना सात शहरका आ–आफ्नै विशेषता छन् । जसलाई चुनीखेलले प्रतिनिधित्व गर्छ । ‘चुनी’ र ‘खेल’ मिलेर बनेको चुनीखेलको पनि आफ्नै महत्व छ । चुनी भनेको देवीको नाम र खेल भनेको मन्दिरको प्रांगणमा खेल्ने ठाउँ भएकाले नै यस स्थानको नाम चुनीखेल रहन गएको हो ।

काठमाडौं उपत्यकाको किनारमा रहेको चुनीखेल पुग्दा स्वच्छ हावापानी र नजिकै रहेको अग्लो पहाड र देखिने हरियालीको दृश्यावलोकन, पहाडको फेदीको ग्रामीण परिवेष, उकाली–ओराली सडकका किनारमा रहेका बोटविरुवा, लहलह धान, टनेल गाईवस्तु, सल्लाघारी र हावाको सुस्केराले शहरीया होहल्लालाई बिर्साएर जोकोहीलाई पनि गाउँमै पुर्‍याउँछ ।

त्यसैगरी बाक्लो बस्तीका चोक–चोकमा परम्परागत इँटा बिछ्याइएका छन् । जसले ऐतिहासिक दृश्यावलोकनका साथै ऐतिहासिक झझल्को पनि मेटाउँछ ।

यसैगरी, वडाले वाटर चार्जिङलाई विशेष प्राथमिकतामा राखेको छ । सडकमा सरसफाइका साथै सिमेन्टको सट्टा इँटा प्रयोग गरेको छ । पृथ्वीमा पानी चार्जिङ हुनुपर्छ भन्ने मान्यतालाई ध्यानमा राखेर वडाले इँटाको प्रयोग गरेको वडाध्यक्ष टीकानारायण श्रेष्ठले बताए ।

वडा नम्बर १३ लाई सांस्कृतिक वडा बनाउने लक्ष्य रहेको बताउँदै सांस्कृतिक पक्षलाई जगेर्ना हुने गरी वडाको पूर्वाधार तथा विकास निर्माण गर्ने गरिएको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

उनी भन्छन्, ‘भौतिक पूर्वाधार निर्माणका क्रममा सडकमा परम्परागत इँटा बिछ्याएर स्थानीय सांस्कृतिलाई यथावत राख्ने प्रयास गरेका छौँ ।’

हरेक बस्तीको आफ्नै इतिहास हुने बताउँदै उनले २०७२ सालमा बिग्रिएको भौतिक संरचनाको पुनर्निर्माण ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको उनले बताए ।

चुनीखेलको कृष्ण मन्दिर, गाम्छाको ऐतिहासिक भद्रकाली धछे, तुसालको ऐतिहासिक भद्रकाली धछे, टुपेकको ऐतिहासिक धक्षे तहसनहस भएका धक्षेमध्ये केही निर्माणाधीन रहेको उनको भनाइ छ ।

‘धर्म तथा सांस्कृतिले मानिसलाई एक आपसमा बाँध्ने र एकजुट हुन सहयोग गर्छ । समाजमा हुने हिंसा कम गर्ने, अनुशासन तथा मर्यादा कायममा सहयोग पु¥याउने तथा धर्म र संस्कृतिको रक्षाले राज्य निर्माणमा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्छ । वडाले धर्म संस्कृति तथा संस्कारको संरक्षणलाई प्राथमिकतामा राखेको छ,’ अध्यक्ष श्रेष्ठले भने ।

यस्तै, पछिल्लो समय देशका विभिन्न ठाउँबाट बसाइसराइ आउने क्रम जारी रहेको बताउँदै उनले उनीहरुको अभिलेखीकरण नहुनाले कतिपय योजना कार्यान्वयनमा समस्या हुने गरेको बताए ।

‘वडामा आठ सयको हाराहारीमा बस्ती रहेको तथ्यांक छ । सो तथ्यांकअनुसार एक घर एक धाराको योजना बनाएर कार्यान्वयन गर्‍यौँ । तर, अझै ७ भन्दा बढी नयाँ बस्ती थप भएका छन्,’ उनले भने, ‘जसका कारण एक घर एक धारा पु¥याउन सकिएको छैन ।’बसाइसराइ गरी आउनेहरुलाई अभिलेखीकरण भइदिन उनको आग्रह छ ।

स्वास्थ्य क्षेत्रमा राज्यले दिने स्वास्थ्य सेवाबाट वडावासी वञ्चित नभएको बताउँदै उनले स्वास्थ्यलाई ख्याल गर्दै नगरपालिका र वडाको समन्वयमा बर्थिङ सेन्टर सञ्चालन भइरहेको जानकारी दिए । उनले भने, ‘हरेक वर्ष ७०–८० जना बच्चा बर्थिङ हुन्छन् ।’
वडाले वडावासीमा टाउको, ढाँड, नसालगायका बिरामीको संख्या बढी भएकाले सोलाई ध्यानमा राखेर वडाले फिजियोथेरापी सञ्चालन गरेको छ ।

वडाले ल्याब सञ्चालनका लागि आवश्यक सामग्री ल्याए पनि ठाउँ अभाव र नगरपालिकाबाट दुईजना कर्मचारी व्यवस्थापन गर्न नसक्दा ल्याब सञ्चालन गर्न नसकेको उनले बताए ।

‘सेवा दिन खोज्दा खोज्दै पनि स्रोत र साधनको अभावका कारण सोचेअनुरुप सेवा दिन सकेनौँ,’ उनले भने ।’
वृद्धवृद्धा र बालबालिकोको स्वास्थ्यलाई मध्यनजर राख्दै कतिपय अवस्थामा घरमै गएर सेवा दिने र पायक पर्ने स्थानमा शिविर सञ्चालन गर्ने गरिएको उनले जानकारी दिए ।

सेवा लिन लाइन बसेका एक वृद्धको ज्यान गएपछि वडाल वृद्धवृद्धालाई विशेष ध्यानमा राखी घरमै गएर सेवा दिने गरेको छ । उनले भने, ‘सेवा लिनका लागि लाइनमा बसेका एक वृद्धको मृत्यु भएपछि हामीले सेवा गर्नै आएका हौँ भनेर घरमै गएर सेवा दिने गरेका छौँ ।’

यसैगरी, वडावासीको स्वास्थ्यलाई मध्यनजर गरेर थेरापी र निःशुल्क योगाको सेवा प्रवाह गरिरहेको छ ।
वडाध्यक्ष श्रेष्ठले भने, ‘वडावासीको स्वास्थ्यलाई मध्यनजर गरी वडा आफैँले एक थेरापी सञ्चालनका लागि कर्मचारी र योगा प्रशिक्षक राखी सेवा दिइरहेको छ ।’सस्थागत विद्यालय अब्बल, तर सामुदायिक विद्यालय कमसल नहुने उनी बताउँछन् ।
सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावक संस्थागत विद्यालयका अभिभावकजतिकै खट्ने हो भने सामुदायिक विद्यालय कमजोर हुन्छन् भन्ने मानसिकता हट्ने उनको विश्वास छ । सामुदायिक विद्यालय कमजोर हुनुको कारण पारिवारिक पृष्ठभूमि पनि रहेको उनको अनुभव छ । उनले भने, ‘सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरु पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो पहिचान बनाएका छन् ।

संस्थागत विद्यालयमा जति जनशक्ति हुन्छ त्यति जनशक्ति सामुदायिक विद्यालयमा पनि हुने हो भने सामुदायिक विद्यालय कमजोर नहुने उनको भनाइ छ ।

दुईवटा सामुदायिक मावि भएको वडामा शैक्षिक सुधारका लागि उनले पाँच लाख रुपैयाँ फन्टको व्यवस्था गरेका छन् ।
‘सो पैसाबाट ८,९ र १० कक्षाका विद्यार्थीलाई बिहान बेलुका कोचिङ कक्षा सञ्चान हुन्छ,’ उनले भने ।

वडाको यस कार्यका कारण विगतमा दुवै विद्यालयले राम्रो नतिजा निकालेको उनले बताए । उनले भने,‘ परीक्षामा राम्रो नतिजा निकल्न सफल विद्यार्थीलाई प्रोत्साहनस्वरुप परीक्षामा सफल विद्यार्थीलाई सम्मान पनि गरेका छौँ ।’

वडाले कृषि क्षेत्रलाई उत्पादनसँग जोड्ने उद्देश्यवले जग्गा लिजमा दिनुको सट्टा आफैँ कृषि उत्पादन गर्न प्रोत्साहन गरेको छ ।
जसका लागि वडाले टनेल, बिउ विजन, मलखाद्यलगायतको व्यवस्था गर्ने गरेको अध्यक्ष श्रेष्ठ बताउँछन् । उनका अनुसार वडाले यो डेढ वर्षको अवधिमा १७६ वटा टनेल वितरण गरेको छ । उनले भने, ‘कृषिलाई प्राथमिकता राखेर हामीले एक घर एक टनेलको व्यवस्था गरेका छौँ ।’

विभिन्न संस्थासँग जोडिएर वडावासीलाई समयमै मल उपलब्ध गराउने गरेको उनले बताए । यद्यपि राज्यले उपलब्ध गराएको मल, विउविजन पर्याप्त नहुने उनको भनाइ छ ।

कम्तीमा वडाको उत्पादनले बाह्य वस्तुको निर्यातलाई रोकोस् भन्ने उनको चाहना छ । नेपाल खाद्य क्षेत्रमा आत्मनिर्भर हुनका लागि राज्यले नीतिगत रुपमै एक वडा एक उत्पादनको नीति लिनुपर्ने उनको राय छ । कानुनी कृषकहरुले मात्र सेवा पाउने गरी बनेका कानुनहरुको पुनरावलोकन हुनुपर्ने अध्यक्ष श्रेष्ठ बताउँछन् ।

कानुनी रुपमा दर्ता भएका कृषकहरुले मात्र राज्यले दिने सेवाबाट मात्रै पाइरहे पनि वडा र नगरपालिकाबाट पाउनुपर्ने सेवा कृषकले पाइरहेको उनले बताए ।

‘उत्पादनका दृष्टिले अहिले वडा र नगरपालिकाले सिफारिस गर्ने मात्रै अधिकार छ । स्थानीय सरकार (पालिका) वा वडाले म आफैँ उत्पादन गर्छु भन्यो भने त्यो अधिकार छैन । जसले गर्दा स्थानीयले गर्ने विकास भनेको बाटोघाटो मात्रै बनाउने भएको छ,’ उनले भने, ‘ यसरी देश बन्लाजस्तो लाग्दैन । ६६४७ वडाले एक/एक उत्पादन गरे देश कायपलट हुन्छ ।’

देशमा भएको स्रोतसाधन पूर्ण रुपमा उपयोग हुनुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘यहीँ हाम्रो डाँडामा युरेनियम छ भन्छन् । त्यो प्रयोग गर्नुपर्छ ।’

युवा पुस्ता १० प्रतिशत पनि कृषिमा नरहेको बताउँदै उनले सबै युवा विदेशिने गरेको उनको भनाइ छ ।
एक वर्षको अवधिमा निर्वाचनमा जाँदा गरेका बाचा शतप्रतिशत पूरा गरेको बताए ।

उनले भने, ‘ हिजो पाँच वर्षमा के–के गर्ने भनी गरेका घोषणाको फ्रेमिङ गरेर राखेको छु । पाँच वर्षको अवधिमा गर्ने भनिएका काम त एकै वर्षमा पूरा भएका छन्,’ उनले भने, ‘विकास कहिलै पूरा हुँदैन । अब आवश्यकताका आधारमा त्यसलाई निरन्तरता दिनुपर्नेछ ।’

वडा न्यायिक समितिमार्फत् वडामा सिर्जना हुने सामाजिक मुद्दाको मेलमिलाप हुने गरेको उनले बताए । कतिपय मुद्दा वडा कार्यालयमा अभिलेखीकरण भए पनि सो भन्दा सयौँ गणु मुद्दा घरघर गएर मिलाउने गरिएको उनको भनाइ छ ।