काठमाडौं । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले आज चियापान कार्यक्रमको आयोजना गदैछ । दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो ।
काँग्रेसले बडादशैं, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन हरेक बर्ष चियापान कार्यक्रमको आयोजना गदै आईरहेको छ ।
चियापानमा राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारकर्मी, गैरआवासीय नेपालीका संघ–संस्थाका प्रमुखहरूलाई आमन्त्रण गरिएको छ । कांग्रेस सदस्य एवं शुभेच्छुकसहित सर्वसाधारलाई सार्वजनिक रूपमा आमन्त्रण गरिएको पार्टीले जनाएको छ ।
बीपी वि.सं. २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले वि.सं. २०३४ देखि चियापान शुरू गरेको हो । वि.सं. २०३८ सम्म बीपीले यसलाई निरन्तरता दिएका थिए ।
त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।