२७ बैशाख २०८३, आइतबार 1778398545
Banner

दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन, जबरजस्ती गरे कारबाही हुन्छ : जिल्ला प्रशासन कार्यालय

काठमाडौं :  जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानलाई तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको जनाएको छ। 

कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा बिथोल्ने मनसायले कार्यक्रम तालिका सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न अनुमति प्रदान नगरिएको जनाएको हो। 

शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानून विपरीतका गतिविधि गरेमा कानून बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रशासनको पत्रसँगै प्रसाईँका समर्थकहरु रणभुल्लमा परेका छन् । पहिलो दिन हिजो बल्खुमा प्रदर्शन गरेको महाअभियानले आजदेखि तीनकुने केन्द्रित आन्दोलन गर्ने बताएको थियो।  अभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

यसअघि हिजो बल्खुमा भएको प्रदर्शनमा सुरक्षाकर्मीसँग भएको झडपमा पाँच प्रहरीसहित २८ जना घाइते भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।