काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका मुद्दा जसले पनि उठाउन पाउने बताएका छन् । आज मधेसमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । दुर्गा प्रसाईंको आन्दोलनमा सरकारले गरेको निषेधपूर्ण व्यवहारप्रति सांकेतिक असन्तुष्टि प्रकट गरे ।
उनले भने, ‘जोजो साथीहरू अहिले विभिन्न ढंगले आफूलाई अभिव्यक्त गरिरहनुभएको छ, विभिन्न कार्यक्रम गरिरहनुभएको छ, जनताको मुद्दा उठाउने सवालमा आवाज रोकिनु हुन्न । हामीले रोजेको बाटो र अरुले रोजेको बाटो एउटै हुनुपर्छ भन्ने छैन ।’
लामिछानेले थपे, ‘मिटरव्याज पीडित, लघुवित्त, सहकारी पीडित, जसले, जहाँबाट, जुन कोणबाट भुइँमा रहेका मान्छेको आवाज उठाउँछ, त्यसको राज्यले सम्मान गर्नुपर्छ । जसले जसरी अभिव्यक्त गरे पनि आफूलाई लागेको कुरामा विरोध गर्न पाउनुपर्छ, प्रदर्शन गर्न पाउनुपर्छ, जनताको मुद्दा उठाउन पाउनुपर्छ । निषेधको राजनीतिक लामो समय टिक्दैन । जनतामा केन्द्रित मुद्दा उठाउनेमाथि कहीँकतै रोकटोक नहोस । हामी भने शान्त ढंगले निर्वाचनका माध्यमबाट यो प्रणालीलाई स्वीकारेर जाने पक्षमा छौं ।’